पोखरा ।
गण्डकी प्रदेश सरकारले हालै ल्याएको ‘राइड शेयरिङ’ नियमावली विरुद्धमा यातायात व्यवसायी र यातायात सम्बद्ध मजदुर संगठनहरु एक ठाउँमा उभिएका छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा बिहीबार विरोध सभा गर्दै उनीहरु आफूहरु गर या मरको अवस्थामा एकै ठाउँम उभिएर आन्दोलनमा होमिएको बताएका हुन् ।
उनीहरुले प्रदेश सकारलाई १४ जेठसम्मको समय दिइएको र १४ जेठसम्म नियमावली फिर्ता नगरे १५ जेठमा गण्डकी प्रदेशमा आफ्ना सवारीसाधन घर ग्यारेजमा थन्क्याउने र १६ जेठदेखि देशभर नै आन्दोलनमा उत्रने घोषणा गरेका छन् ।
विरोध सभालाई सम्बोधन गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष विजयबहादुर स्वाँरले ‘राइड सेरिङ’ नियमावली खारेज नभएसम्म आन्दोलन नरोकिने उद्घोष गरे । उनले अब कि रातो नम्बर प्लेटका सवारीले मात्र यात्रु बोक्ने कि सार्वजनिक यातायातका साधन (कालो प्लेटका सवारीसाधन)ले मात्र यात्रु बोक्ने निस्चित गरेर मात्र आन्दोलनले विश्राम लिने बताए ।
उनले विगतमा यातायात व्यवस्थापनका लागि आन्दोलनमा उत्रने गरेको भएपनि अहिले व्यवसायलाई बचाउनका लागि आन्दोलनमा होमिन परेको बताए । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे विरुद्ध आक्रोसित सुनिएका उनले अब प्रदेश सरकारले मात्र जवाफ दिएर नहुने उल्लेख गरे ।
सार्वजनिक यातायात व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष डोलराज खनालले केन्द्रीय स्तरबाट आन्दोलनलाई देशभरमा लैजाने र १६ जेठबाट देशव्यापी आन्दोलन छेड्ने चेतावनी दिए । देशको पुँजी र श्रमलाई पलायन बनाउने सड्यन्त्रमा सरकार लागेको उनले बताए ।
उनले आफूहरुले जसरीपनि जित हाँसिल गर्ने उनको उद्घोष थियो । सार्वजनिक रुपमा यात्रा गराउने र भाडाको काम गर्ने काम कालो प्लेटले मात्र पाउने कानुनी प्रष्ट व्यवस्था हुँदा हुँदै त्यसको विरुद्धमा रातो नम्बर प्लेटलाई पनि सवारी बोक्न दिने निर्णय गरेर गण्डकीका मुख्यमन्त्रीले चलखेल गरेको उनले आरोप लगाए । उनले मुख्यमन्त्रीको यस्तो चलखेललाई कुनैहालतमा सफल हुन नदिने उनले उद्घोष गरे ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले मुख्यमन्त्री पाण्डेलाई व्यापार नगरी विकास गर्न सुझाव दिए । मुख्यमन्त्री पाण्डे वर्तमान व्यवस्था विरोधी, व्यवसायी, मुलुकको संविधान र ऐन कानुनका समेत विरोधी भएको आरोप लगाउँदै उनले गण्डकी प्रदेशले ल्याएको ‘राइड सेरिङ’ नियमावली कुनैपनि हालतमा कार्यान्वयनमा जान नदिने बताएका छन् ।
आफूहरु कालो कफन बाँधेर उत्रिएको भन्दै उनले राजनीतिक दलहरुलाई पनि राइड सेयरिङ नियमावलीको विषयमा कित्ताकाँट गर्न आग्रह गरे । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेको जानकारी दिएका उनले अब प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री प्रचण्डसंग समेत भेटेर यो विषयको ध्यानाकर्षण गराउने बताए ।
गण्डकीका मुख्यमन्त्री पाण्डेले आफ्नै सभापति देउवा र आफ्नै पार्टीका नेता कार्यकर्तासहित मजदुरको समेत कूरा नसुनेर नियमावली ल्याएको उनको भनाई थियो ।
कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका अध्यक्ष केदार पौडेल, महासचिव योगेन्द्रबहादुर केसीसहित यातायात सम्बद्ध मजदुर संगठनका केन्द्रीय नेताहरुले सम्बोधन गरेका थिए ।