भूपू ट्रन्स्पोर्टले चारवटा बसबाट सुरु गरेको पोखरा बस व्यवसायी समिति नै अहिलेको पोखरा यातायात प्रालि हो । जसले अहिले आफ्ना सवारीसाधनको संख्या चार सय पुर्याएको छ भने, ८२० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । कास्कीका दुर्गम भागमा समेत सेवा दिइरहेको पोखरा यातायात प्रालिमा १ अर्ब ४८ करोड रुपैयाँको लगानी छ । प्रस्तुत छ देशकै पर्यटकीय राजधानी एवं गण्डकी प्रदेशको राजधानी पोखरालाई केन्द्रभाग बनाएर कास्कीका गाउँबस्तीसम्म आफ्नो सेवा दिइरहेको पोखरा यातायात प्रालि केन्द्रित भएर केन्द्रभाग डटकमले सञ्चालन गरेको हाम्रो यातायातका लागि गोविन्द सुवेदीले प्रालिका अध्यक्ष देउप्रसाद गुरुङसंग गरेको कुराकानीको सम्पादित अंश
- पोखरा यातायात प्रालिको स्थापना र सुरुवाती क्षणको स्मरण गरौं न । कसरी सुरुभयो ?
यो पोखरा बस समिति २०४९ मा दर्ता भएपनि भूपू ट्रन्स्पोर्टका चार वटा बस बाट सुरु भएको हो । सुरुमा विहान बेलुका कर्मचारी बोकेर हर्कबहादुर गुरुङले यसको सुरुवात गराउनुभएको हो । त्यसको विकसित रुप नै अहिलेको पोखरा यातायात प्रालि हो ।
- कति जनाले सुरुमा रोजगारी पाएका थिए र जनशक्ति पाउन कत्तिको समस्या थियो ?
सुरुमा चार वटा बस थिए । नेपालीले त्यतिबेला त्यति गाडी चलाउँदैनथे । सरदारहरुले गाडी चलाउँथे । म पनि भूपूले चलाउँदा सिकेको हो । पहिले गाडीमा ड्राइभर, कन्डक्टर र खलाँसी गरेर तीन जना स्टाफ हुन्थे त्यस हिसावले सुरुमा १२ जनालाई रोजगारी प्राप्त थियो । अहिले पोखरामा उपभोक्ताको माग अनुसार गाडी थप्दै गयौं ।
- अहिले कति सवारीसाधन छन् र कतिले रोजगारी पाएका छन् ?
अहिले हामीसंग झण्डै चार सयवटा बस छन् । यसमा ८२० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । अप्रत्यक्ष रुपमा त्यो भन्दा धेरै रोजगारी पाएका छन् । पोखरा यातायात प्रालिमा झण्डै एक अर्ब ४८ करोड रुपैयाँ भन्दा धेरै लगानी पुगेको छ । लगानी अनुसार प्रतिफल छैन । बसपार्क छैन । यतिका सवारी सडकबाटै सञ्चालन गर्नुपर्ने अवस्था छ । दैनिक डेढसय सवारी यत्तिकै बस्नुपर्ने अवस्था छ ।
चारवटा बसले कर्मचारी बोकेर सुरुभएको पोखरा यातायात प्रालि आज यहाँसम्म आइपुगेको छ । यसको सेवा विस्तार कहाँ पुर्याउनुभयो ?
सिक्लेस, ताङतिक, आर्वा, भुर्जुुङखोला कृस्ति हुँदैै स्याङ्जाको टक्सार, पुम्दीभुम्दी हुँदै तारेभिर लगायत समग्रमा कास्कीका सुगम र दुर्गम सबै ठाउँमा सेवा दिएका छौं । पहिले विद्यार्थीलाई ध्यानमा राखेर उहाँहरुकै आग्रहले घाटा–नाफा जे भएपनि कुनाकाप्चामा सेवा दिएका छौं । अहिले पनि पृथ्वीनारायण क्याम्पस र जनप्रिय क्याम्पसलाई पनि आधार मानेर सेवा दिइरहेका छौं ।
- स्तरीय सेवा र प्रविधिको उपयोगको हिसावले कहाँ हुनुहुन्छ ?
प्रविधि र सेवासुविधा भन्ने कूरा समयले निर्धारण गर्ने रहेछ । अहिले सबैले इभी इभी भनिरहेको छ । हामीपनि यसको पक्रियामा नै छौं । सात वटा गाडी ईभी गाडी छन् । अझैपनि हामीसंग २०९/१० मोडेलका गाडीहरु पनि छन् । समय अझै छ । यसै व्यवसायीलाई फाल्नुस् भन्न सकेका छैनौं । हामीले पुराना गाडी विस्थापन गरेर नयाँ प्रविधिमा जाँदा केही सरकारले अनुदान दिए हुन्थ्यो भन्ने छ ।
अहिले धेरै स्वरोजगार हुनुहुन्छ । त्यसैले उहाँहरुको रोजीरोटी चलेको छ । बाबुनानीको लालनपाल र शिक्षादिक्षा त्यसैबाट चलेको छ । यत्तिकै विस्थापन गर्न नमिल्ने हुनाले हामीले केही सरकारले अनुदान दियोस् भन्ने हो । सरकारले अभिभावकत्व निर्वाह गरोस् भन्ने हो । पोखरा विगार्न हुँदैन । प्रविधिलाई अंगाल्नुपर्छ । तर, हामीप्रति सरकारको नजर त्यति ठिक छैन ।
अहिले हाम्रा सवारीसाधनले धुँवा फाले भन्ने बजारमा चर्चा छ । कतिपयले धुँवा फाले पनि होला । धेरै कोसिस् गर्दापनि धुँवा नफाल्ने बनाउन सकिएन । यहाँ गएर गाडी बनाउ भनेदेखि त्यहीँ गएर हामी गाडी बनाउन तयार छौं । डेढ दुई लाख खर्च गर्दापनि राम्रो बनाउन सकिएन । हामी खर्च गर्न तयार छौं । खर्च गरेपछि गाडी कन्डिसनमा आउन पर्यो । सरकारले नै ठाउँ तोकिदिए र दक्ष जनशक्तिले मर्मत गर्ने व्यवस्था गराइदिए हुन्थ्यो ।
- के छ अबको योजना ? कस्ता प्रविधिका सवारी भित्र्याउने ?
हाम्रो साधारणसभा आउँदैछ । यही भनेर व्यवसायीलाई बाध्य बनाउन सकिँदैन । अब धुँवा फालेको गुनासा पनि छन् । अब ईबीमा जानुपर्छ नै । यही बाटोमा अब जाने हो । तर, व्यवसायीलाई अनेक झमेलामा पार्न भएन । गरिखाने वातावरण सरकारले बनाइदिनु पर्यो ।
- यातायात व्यवसाय सञ्चालन गर्दाका पीडा पनि सेयर गरौं न । कस्ता कस्ता खालका समस्या भोग्नुभयो ?
यो क्षेत्रको पीडा भनेरै साध्य नै छैन । पोखरा बस व्यवसायी समिति हुँदा नै सिस्टमले चलेको संस्था हो । हामीकहां संस्था राम्रो बनाउने भन्दा पनि राम्रो भएकोलाई कसरी भत्काउन सकिन्छ भनेर लाग्ने प्रबृत्ति देखियो । संस्थाहरु आए । तर, अहिले भने राम्रो नै छ । सबैले पोखरा यातायात प्रालिलाई मायाँ मान्नुभएको छ । सुझावलाई आत्मसात गरेरै अगाडि बढ्छौं ।
- यातायात व्यवसायी भनेका अल्लि ठग हुन् । राज्य र यात्रुलाई ठग्छन् भन्ने बुझाई पनि छ । किन यातायात व्यवसायी प्रति सकारात्मक धारणा नभएको होला ?
गाडीमा चढ्ने यात्रु सबै एकै किसिमको हुँदैन । मजदुरपनि एउटै खालको हुँदैन । एकजना मजदुरले गर्ने व्यवहारले चार सय गाडी प्रति हेर्ने दृष्टिकोण बन्छ । यात्रुपनि कोही कोही त्यस्तै हुन्छन् । भाडा सकेसम्म दिन नपरे हुन्थ्यो जस्तो गर्छन् । पुरै भाडा दिन आनाकानी गर्छन् । यो कारण पनि अलिकति समस्या आएको जस्तो लाग्छ ।
हामीले बेलाबखत प्रशिक्षण पनि दिन्छौं । अहिले पोखराको सडक भद्रगोल छ । दोहोरो पार्किङ हुन्छ । कहाँ गएर यात्रु ओराल्ने झराल्ने समस्या छ । लौ बीच बाटोमा रोक्यो भन्छ । ठूलो गाडीलाई साइड लगाउन पनि त्यति सजिलो हुँदैन । हिजो इ–टिकेटिङको कूरा आए । हामीले त्यसलाई आत्मसात पनि गरेकै हो । तर, मेसिनले नै काम गरेन । हामीले जिपिएस नेपालमै पहिले सुरु गरेका हौैं । हामी यहीँ (कार्यालय) बाट स्पिड कन्ट्रोल गराउँछौं । ४० को स्पिड भन्दा बढी स्पिड भयो भने हामीले जरिवाना गर्ने गरेका छौं र पनि आलोचना चाहीँ भएकै छ ।
‘सबैभन्दा पहिलो आवश्यकता नै बसपार्कको छ । यहाँ निर्वाचन लड्ने सबैको प्रतिवद्धता बसपार्क बनाउने भन्ने छ । तर, कसैले पनि बनाउँदैन । यातायात क्षेत्रमा प्रतिस्पर्धा चाहिन्छ । तर, त्यसको आवश्यकता के हो भन्ने कूरा सरकारले अध्यन गरोस् । चाहिएको भन्दा धेरै गाडी भए । राम्रोसंग अध्ययन गरौं । अगाडि बढौं । पोखरामा बनाउने दायित्व सबैको हो । यातायात क्षेत्रलाई भद्रगोल पारेर पोखरा राम्रो बन्दैन ।’
- सरकारसंगको सम्बन्ध र सहकार्य कस्तो छ ?
सरकारलाई यातायात सेवा सुधार गर्नुपर्छ भन्ने कहिल्यै महसुश भएजस्तो लाग्दैन । यो पेशा गर्ने मानिसलाई नेपाली नै होइन कि जस्तो व्यवहार गर्छन । हामीले अग्रिम कर तिर्छौं । पोखरा बसकै कुरा गर्नुहुन्छ भने वर्षमा एक करोडकै हाराहारीमा कर तिरेका छौं । तर त्यसको उपलब्धी हामीले पाएको छैनौं । सरकारले यीपनि व्यवसायी हुन् भन्ने दृष्टिकोणले हेरेको पाएनौं ।
हिजो समितिलाई प्रालिमा रुपान्तरण गरियो । सेयर कहाँ कसरी मिलाउने ? एउटा डकुमेन्ट बोकेर काठमाडौं जानुपर्ने अवस्था छ । रातो नम्बर प्लेटको महत्व के हो र कालो नम्बर प्लेटको महत्व के हो भन्ने नै सरकारले बुझेन ।
- प्रहरी डाटाले धेरै दुर्घटनाको कारण चालकको लापरबाही हो भन्छ । दुर्घटना बढेको बढ्यै छ । न्युनिकरणका लागि के प्रयास गर्नुभएको छ ?
पोखरामा गाडी अस्तव्यस्त नै छ अहिले । पोखरामा गाडी नै धेरै भयो । चाहिएभन्दा धेरै भयो । पोखरामा नगर बस डेढसयको संख्यामा भए पुग्ने अवस्था छ । अहिले हामीसंगै चार सय गाडी छन् । बेगनास, स्थानयीय, सबैलाई महेन्द्रपुल, चिप्लेढुंगा पुग्नैपर्छ । पोखरामा बसपार्क छैन । बसपार्क केन्द्रुभएर भएर सवारी चलाउन पाएको भए रोड अस्तव्यस्त हुनेथिएन । हामीले हाम्रा अन्तिम स्टेसनहरुमा आँफैले पैसा तिरेर बस पार्किङ गर्ने व्यवस्था मिलाएका छौं । यो राज्यको दायित्व हो नी । खोइ दायित्व पूरा गरेको ?
- पोखरा देशकै पर्यटकीय राजधानी सहर र गण्डकी प्रदेशको समेत राजधानी भएकाले यहाँको यातायात व्यवस्थापनलाई व्यवस्थित गर्न के गर्नुपर्ला ?
सबैभन्दा पहिलो आवश्यकता नै बसपार्कको छ । यहाँ निर्वाचन लड्ने सबैको प्रतिवद्धता बसपार्क बनाउने भन्ने छ । तर, कसैले पनि बनाउँदैन । यातायात क्षेत्रमा प्रतिस्पर्धा चाहिन्छ । तर, त्यसको आवश्यकता के हो भन्ने कूरा सरकारले अध्यन गरोस् । चाहिएको भन्दा धेरै गाडी भए । राम्रोसंग अध्ययन गरौं । अगाडि बढौं । पोखरामा बनाउने दायित्व सबैको हो । यातायात क्षेत्रलाई भद्रगोल पारेर पोखरा राम्रो बन्दैन ।