नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइने

केन्द्रभाग मिडिया

काठमाडौँ

सरकारले खोप लगाउन छुटेका ५ वर्ष मुनिका बालबालिकालाई खोप लगाउने भएको छ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले नियमित खोप कार्यक्रम अन्तर्गत खोप लगाउन छुटेका ५ वर्ष मुनिका बालबालिकालाई वैशाख ३१ गते खोप लगाउने तयारी गरेको हो।

महाशाखाको खोप शाखा प्रमुख डा। अभियान गौतमले नियमित खोप लगाउन छुटेका ५ वर्ष मुनिका बालबालिकालाई देशैभरका सरकारी स्वास्थ्य संस्थाहरूबाट खोप लगाउन तयारी भएको जानकारी दिए।

‘विगतमा खोप लगाउन छुट भएका बालबालिकाले वैशाख ३१ गते नजिकैको स्वास्थ्य संस्थामा लगेर छुट खोप लगाउन सक्नेछन्। पूर्ण खोप अभियान कार्यक्रम अन्तर्गत वैशाख महिनालाई पूर्ण खोप महिना घोषणा गरेर खोप अभियान सञ्चालन गर्ने गरेका छौँ,’ शाखा प्रमुख डा। गौतमले बताए।

सरकारले १५ महिनासम्मका शिशुलाई १३ वटा रोगविरुद्ध ९ प्रकारको खोप निशुल्क लगाउने गरेको छ। १५ महिना सम्मको ९ प्रकारको खोप मध्ये कुनै खोप छुटेको छ भने आफनो नजिकैको स्वास्थ्य संस्थामा खोप कार्ड लिएर गएर लगाउन सक्ने खोप शाखाले जनाएको छ।

सरकारले तीन वर्षदेखि खोप लगाउन छुटेका बालबालिकालाई खोप अभियान कार्यक्रम सञ्चालन गर्दै खोप लगाउन थालेको छ। हालसम्म खोप लगाउन छुटेका ७९ हजार बालबालिकाले खोप लगाएका छन्। ५ वर्ष मुनिमा करिब २० प्रतिशत बालबालिका नियमित खोप कार्यक्रम अन्तर्गत खोप लगाउन छुट्ने गरेको आकलन गरिएको छ।

  • २५ बैशाख २०८२, बिहीबार १५:४५ प्रकाशित