काठमाडौं ।
काठमाडौं । दुर्गा प्रसाईंलाई १२ दिन हिरासत राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । तीनकुने घटनाका मुख्य कमाण्डर रहेका उनलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रसाईंसँगै पक्राउ परेका उनका बडिगार्ड दीपक खड्कालाई पनि १२ दिन नै हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ ।
प्रहरीले दुवैजनालाई कम्तीमा १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि माग गरेको थियो । प्रहरीले मागे अनुरुप नै ढकालको इजलासले म्याद थपको अनुमति दिएको हो । यसअघि गत २६ चैतमा सोही प्रदर्शनमा पक्राउ परेका राप्रपाका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर जबरालाई १५ दिन हिरासतमा राख्न म्याद थप भएको थियो ।
उनीहरूसँगै म्याद मिलान गर्नका लागि १२ दिनको म्याद थप गर्नका लागि प्रहरीले समय समय मागेको हो । भारतबाट पक्राउ परेका प्रसाईंलाई आजै जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको थियो ।
















