जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइयो प्रसाईंलाई

केन्द्रभाग मिडिया

काठमाडौं ।

पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको छ । काठमाडौंको तीनकुनेमा १५ चैतमा भएको राजावादीको हिंस्रक प्रदर्शनका कमान्डर प्रसाईं सोही दिनदेखि फरार थिए । बिहीबार भारतीय प्रहरीको नियन्त्रणमा परेका प्रसाईंलाई आज शुक्रबार बिहान भद्रपुर विमानस्थल ल्याइयो र त्यहाँबाट विमानमार्फत काठमाडौं ल्याइएको हो।

दुई जनाको ज्यान गुम्नेगरी भएको हिंसात्मक प्रदर्शनका कारण केही घाइते अझै अस्पतालमै छन् । प्रदर्शनकारीले तीनकुने क्षेत्रका केही निजी र सरकारी संरचनामा आगजानी र तोडफोड पनि गरेका थिए । प्रदर्शनकारीलाई हिंस्रक बन्न उचालेर प्रसाईं भने फरार भएका थिए। अहिले उनीमाथि चार कसुरमा अनुसन्धानको तयारी अघि बढाइएको छ ।

प्रदर्शनकारीलाई हिंस्रक बन्न उचालेका प्रसाईं आफैँले पनि प्रहरीको भिडलाई किचौँलाझैँ गाडी कुदाएका थिए। त्यहाँ प्रहरीमाथि नै गाडी कुदाउन खोजेर ज्यान मार्ने प्रयास गरेको भन्दै ज्यान मार्ने उद्योगको कसुरमा अनुसन्धान अघि बढाउन लागिएको हो।

प्रदर्शनका क्रममा आगजनी र तोडफोड गरेको घटनालाई लिएर उनीमाथि संगठित अपराधको कसुरमा पनि अनुसन्धान हुँदैछ । उनी प्रदर्शनकारीको कमान्डर रहेको कारणले यसको निर्देशक र परिचालक उनी भएको आरोप छ । प्रदर्शनकारीले निजी घर र जडीबुटी कारखानामा आगजनीसमेत गरेका थिए ।

 

  • २९ चैत्र २०८१, शुक्रबार १३:५६ प्रकाशित