सिमसार क्षेत्र पुरेको आरोप खेपेका व्यवसायी खतिवडाको शरणमा नेपाल प्रहरी !

विवादीत भन्ने थाहा भएन, कानूनको नजरमा कोही दोशी छ भने सहयोग गरेको भनेर उन्मुक्ति पाउनेकुरा हुँदैन : डिआइजी रावल

केन्द्रभाग मिडिया

पोखरा ।
विभिन्न समयमा सिमसार क्षेत्र पुरेर र अन्य कारणले समेत विवाद र चर्चामा आइरहने व्यवसायी युवराज अतिवडाले बनाइदिएको संरचनामा नेपाल प्रहरीको विट राखिएसंगै नेपाल प्रहरीको आलोचना भएको छ । पोखरा महानगरपालिका वडा नम्बर–१८ सेदीमा व्यवसायी युवराज खतिवडा र स्थानीयको पहलमा प्रहरी बिट स्थापना भएको हो । प्रहरी विटको बुधबार गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) भोलाबहादुर रावलले उद्घाटन गरेका हुन् ।

सेदीको वाईयुके सुपर मार्केटकै प्रांगणमा निर्माण गरिएको प्रहरी विटमा ६ जना प्रहरी रहने जनाइएको छ । करीब १६ लाखको लागतमा बनेको प्रहरी विटमा कार्यालय, भान्सा कोठा, सुत्ने कोठा, शौचालय र बाथरुमपनि रहेका छन् । त्यसबाहेक गैह्राको चौतारादेखि रातोमाटेसम्म १२ वटा गुणस्तरीय सिसी क्यामरापनि जडान भएका छन् । विट व्यवसायी युवराज खतिवडाले बनाई दिएका हुन् भने त्यहाँ चाहिने आवश्यक सामग्रीपनि आफूले नै व्यवस्थापन गरेको उनले बताए । त्यसबाहेक सिसी क्यामरालगायतका खर्च भने हाललाई आफूले दिएपनि स्थानीयले अर्थ संकलन गरेर फिर्ता गर्नेगरी गरिएको उनको भनाई छ ।

उद्घाटन कार्यक्रममा बोल्दै गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख डिआईजी भोलाबहादुर रावलले शान्ति सुरक्षा कायम गर्ने पहल अन्तर्गत प्रहरी विट निर्माण भएको भन्दै यसमा आवश्यक जनशक्ति व्यवस्थापन चाँडै गर्ने प्रतिबद्धता जनाए । उनले यस्तो प्रतिवद्धता जनाएको भएपनि विवादित व्यक्तिले दिएको स्रोतसाधन प्रयोग गरेर प्रहरीले राम्रोसंग काम गर्न नसक्ने भन्दै सामाजिक सञ्जालमा समेत आलोचना भएको छ ।

पोखराका पत्रकार ओम हमालले विटमा जडान गरिएका सिसिटिभीले ताल पुर्न आवतजावत गर्ने टिपर र डोजरहरुको पनि भिडियो खिच्ने छ । अबका दिनमा ताल पुरेछन् भन्ने समाचार लेख्न नपारोस र ६ लाख रुपैयाँ खर्चिर दिएको सिसिटिभी ताल पुर्ने लाइसेन्स नबनोस् भनेर व्यंग्य गरेका छन् । उनले लेखेका छन्, ‘…आशा गरौँ, त्यस सिसिटिभीले ताल पूर्न आवतजावत गर्ने टिपर र डोजरहरुको पनि भिडियो खिच्ने छ र अबका दिनहरुमा ताल पुरेछन भन्ने समाचार लेख्न नपरोस र छ लाख रुपियाँ खर्चिएर दिएको सिसिटिभी ताल पुर्ने लाइसेन्स नबनोस । जे होस्, त्यहाँ सिसिटिभी अति आबश्यक थियो, त्यो आबश्यकता पुरा भएकोमा सम्बन्धित सबैलाई धन्यबाद।’

विवादित व्यक्तिले नै प्रहरी बस्ने बिट बनाएर दिएपछि भएको आलोचनाको विषयमा जिज्ञासा राख्दा गण्डकी प्रहरी कार्यालयका प्रमुख डिआइजी भोलाबहादुर रावलले विवादीत व्यवसायीले बिट बनाइदिएको आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए । स्थानीयले आवश्यकता छ भनेर सक्रियता देखाएकाले बिट राखेको उनको भनाई छ ।

विवादित व्यक्ति वा कानूनको नजरमा दोशी भए जोसुकै भएपनि प्रहरीलाई सहयोग गरेको भनेर उन्मुक्ति नपाउने उनको टिप्पणी छ । ‘विवादित व्यक्तिले बनाइदिएको भन्ने जानकारी भएन । स्थानीयले सक्रियता देखाएपछि हामीलाई पनि त्यहाँ प्रहरी बिट आवश्यकता छ भन्ने लाग्यो र बिट राखिएको हो ।’ उनले भने, ‘विवादित व्यक्तिले सहयोग गरेको भए प्रश्न उठ्नुलाई स्वभाविक रुपमा लिन्छु । तर, सहयोग लिएकै भरमा कोही कसैले दोशी भए उन्मुक्ति पाउने छैनन् । यसमा कुनै सम्झौता हुने कूरा हुँदैन । थप कुरा हामीले पनि बुझ्नुपर्ने हुन्छ ।’

संरक्षणको क्षेत्रमा अभियान्ता समेत रहेकी अधिवक्ता भगवती पहारीले कानून कार्यान्वयन गर्ने निकाय भएकाले प्रहरीले कुन ठाउँ र कस्तो पात्रले सहयोग गरेको भन्ने ख्याल राख्नुपर्ने बताइन् । उनले के गर्ने के नगर्ने भन्ने कुरा हेक्का नराख्दा सिंगो संस्था नै बदनाम हुनेतर्फ सचेत हुनुपर्ने उनको भनाई छ ।

  • ८ फाल्गुन २०८१, बिहीबार ०९:०३ प्रकाशित