पोखरा बेलुन विस्फोट

मन्त्री पौडेल डिस्चार्ज , मेयर आचार्य केही दिन अस्पतालमै रहने

केन्द्रभाग मिडिया

 काठमाडौं ।

पोखरा भ्रमण वर्षका क्रममा बेलुन पड्किएर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल कीर्तिपुर अस्पतालबाट घर फर्केका छन् ।

अस्पतालमा दुई दिनदेखि उपचार गराइ रहनुभएका पौडेल आज ‘डिस्चार्ज’ भएका हुन् । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको र उहाँलाई थप केही दिन अस्पतालमा राखिने पनि अस्पतालले जनाइएको छ ।

मन्त्री पौडेलको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर नपरेकाले उनलाई डिस्चार्ज गरिएको कीर्तिपुरस्थित बर्न अस्पतालका निर्देशक डा. किरण किशोर नकर्मीले जानकारी दिएका छन् ।

मेयर आचार्यको भने पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएकाले हृदयरोग विशेषज्ञसँग परामर्श गरी केही दिन उपचार गरिने छ ।अर्थमन्त्री पौडेलको सचिवालयका अनुसार अस्पतालले डिस्चार्जको निर्णय गरिसकेको जानकारी दिएको छ तर घर फर्किने समय भने निश्चित छैन ।

शनिबार पोखरा भ्रमण वर्ष उदघाटनको क्रममा हाइड्रोजन ग्यास भरिएका बेलुनका झुप्पा आगोको झिल्कोमा परी विष्फोट हुँदा प्रमुख अतिथि पौडेल र मेयर आचार्य घाइते भएका थिए ।

  • ५ फाल्गुन २०८१, सोमबार १३:३६ प्रकाशित