उत्तरी गोरखाको नुब्री भ्यालीमा यस यामकै भारी हिमपात

केन्द्रभाग मिडिया

गोरखा ।

उत्तरी गोरखामा पुनः भारी हिमपात भएको छ । गएरातिदेखि यसपटकको हिउँदमा अहिलेसम्मकै भारी हिमपात भइरहेको स्थानीयवासी ले जानकारी दिएका छन् ।

लामो समयको सुख्खापछि गएरातिदेखि दोस्रो पटक हिउँ परेको हो । स्थानीयको अनुसार दुई दिन अगाडि सामान्य हिउँ परेको भए तापनि अहिले परेको हिउँ यो यामनै सबैभन्दा ठूलो हिमपात हो ।

नुब्री भ्याली भनेर चिनिने उत्तरी गोरखाको सबैभन्दा उत्तरतर्फ गाउँ साम्दोदेखि तलसम्म रहेको सामागाउँ र स्यालासम्म हिउँ परेको छ । २ बजेदेखि सुरु भएको हिमपात लगातार परिरहेको छ । साम्दोमा जमिनबाट करिब एक फिटभन्दा माथिसम्म हिउँ जमेको छ । तल स्याँलासम्म हिउँ परेको छ ।

भारी हिमपातका कारण नुब्री भ्याली, सामागाउँ र स्याला क्षेत्रका स्थानीयवासीको जनजीवन प्रभावित भएको छ । टेलिफोन र इन्टरनेट सेवामासमेत समस्या भइरहेको छ ।

लामोसमयपछिको हिमपात सुरु भएसँगै स्थानीयवासी खुसी भएका छन् । हिउँले जीवन प्रभावित पार्ने भए पनि अन्नबाली उत्पादन राम्रो हुने भएका कारण स्थानीयवासी खुसी भएका हुन् । स्याला क्षेत्रका स्थानीय कृषकले यसअघि नै करु रोपेको तर उम्रन नपाएकोले यो हिमपातसँगै करुखेती राम्रो हुने भएकाले खुसी भएका हुन् ।

  • ५ फाल्गुन २०८१, सोमबार १३:२९ प्रकाशित