गण्डकी प्रदेश स्थापनाको आज सातौँ वर्ष पूरा, प्रदेशभर सार्वजनिक बिदा

सीमित स्रोत,साधनका बाबजुद नागरिकको मागलाई प्रदेश सरकारले सम्बोधन गरिरहेको छ : मुख्यमन्त्री

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेश स्थापनाको आज सातौँ वर्ष पूरा गरी आठौँ वर्ष प्रवेश गरेको छ । स्थापना दिवसको अवसरमा प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले सम्पूर्ण गण्डकी प्रदेशवासी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

यस समयावधिमा प्रदेश सरकारले संवैधानिक मूल्य, मान्यता एवं प्रचलित कानुन बमोजिम समन्वय, सहअस्तित्व र सहकारिताको सिद्धान्तलाई आत्मसात गरी नागरिकसामु लोकतन्त्र र सुशासनलाई स्थापित गरेको मुख्यमन्त्री पाण्डेले दाबी गरेका छन् । संघीयता कार्यान्वयनसँगै हाम्रो प्रदेशले सुशासन, सम्मुन्नती र सामाजिक न्यायलाई आत्मसात गर्दै दिगो विकासको लक्ष्यमा अघि बढ्दै आएको शुभकामना सन्देशमा उल्लेख गरिएको छ।

शुभकामना सन्देशमा भनिएको छ , ‘प्रदेश सरकारले स्थापनाकाल देखि नीतिगत, कानूनी र संस्थागत पक्षहरूलाई स्थापित गरी आफूलाई परिपक्व बनाउँदै लगेको छ । गण्डकी प्रदेश सरकारले लिएको “आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशवासी” को संकल्प पुरा गर्न सरकार कटिबद्ध छ । संघीयताको मर्म अनुसार समावेशी, दिगो, र समान विकासलाई अघि बढाउँदै नागरिकलाई चुस्त सेवा प्रवाह, सुशासनको अनुभूती दिलाउन तपाई हाम्रो सामूहिक प्रयास जरुरी छ । भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पर्यटन र उद्यमशीलताको प्रवर्द्धन गर्दै दिगो विकासका लक्ष्य भेट्टाउने दिशामा सरकारले आफ्ना नीति कार्यक्रम संचालन गरिरहेको छ ।’

सीमित अधिकार र स्रोत, साधनका बाबजुद पनि आम नागरिकको मागलाई आवश्यकता र प्राथमिकिकरण गरी सरकारले सम्बोधन गरिरहेको पाण्डेको जिकिर छ । सातौँ वर्षसम्म सरकारले संचालन गरेका कार्यहरू र ती कार्यक्रमहरूबाट प्राप्‍त गरेका उपलब्धिहरुमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबैप्रति मुख्यमन्त्री पाण्डेले आभार व्यक्त गरेका छन् ।

शुभकामना सन्देशमा पाण्डेले गण्डकी प्रदेश सभा सदस्य स्वर्गीय बिमला गौचनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै प्रदेश सभा सदस्यको रुपमा उनले पुर्‍याएको योगदानको स्मरण गरेका छन् ।

यस्तै नेपालको संघीय लोकतान्त्रिक शासन व्यवस्थाका लागि भएका सबै आन्दोलन तथा संघर्षको क्रममा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण सहिदहरुप्रति हार्दिक श्रद्धासुमन व्यक्त गरेका छन्। मुख्यमन्त्री पाण्डेले आन्दोलनको क्रममा घाइते भएका, बेपत्ता भएका र पीडित दिदीबहिनी, दाजुभाइप्रति उच्च सम्मान व्यक्त गरेका छन् ।

गण्डकी प्रदेशलाई आजको अवस्थासम्म ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुने पूर्व मुख्यमन्त्रीज्यूहरु, प्रदेश सभा सदस्यज्यूहरु, राजनीतिक दलहरु, कर्मचारी, सुरक्षा निकाय, नागरिक समाज, सञ्चार जगत लगायत सम्पूर्ण प्रदेशवासीमा स्थापना दिवसको अवसरमा सुख, शान्ति समृद्धि र प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

  • २२ माघ २०८१, मंगलवार ११:२० प्रकाशित