पशु प्रजनन् केन्द्र पोखराका ६ पशुमा ब्रुसेलोसिसको शंका

पशु सेवा विभागबाट नै इपिडेमियोलोजिकल अध्ययन, अनुसन्धानको रिजल्ट र प्रतिवेदन कुर्दै केन्द्र

गोविन्द सुवेदी

पोखरा ।
राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखराअन्तर्गतको पशु प्रजनन् केन्द्रमा रहेका ६ वटा पशुमा ब्रुसेलोसिसको संक्रमणको शंका गरिएको छ । संक्रमणको शंका गरिएका पशुलाई अन्य पशुबाट अलग गरेर छुट्टै आइसोलेसनमा राखी निगरानी भइरहेको केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख डा.चन्द्र ढकालका अनुसार ब्रुसेलोसिसको शंका देखिएपछि केन्द्रमा अध्ययन गर्न पशु सेवा विभागबाट टोली आएको थियो । टोलीले आवश्यक अध्ययन तथा परीक्षणका लागि नमुना लिएर फर्किसकेको र अहिले केन्द्र अध्ययन टोलीको प्रतिवेदन तथा विभागबाट आउने थप निर्देशनको प्रतीक्षामा रहेको उनले बताए ।

ब्रुसेलोसिसको शंका गरिएका ६ पशुमध्ये तीनवटा साँढे, एउटा गाई र दुईवटा राँगा छन् । उनीहरूलाई छुट्टै राखेर निगरानी गरिएको छ । केन्द्रमा रहेका अन्य पशुमा संक्रमण फैलिन नदिन आवश्यक सावधानी अपनाइएको डा. ढकालले बताए । ‘शंका गरिएका पशुलाई छुट्टै आइसोलेसनमा राखेर निगरानी गरिरहेका छौँ ।

केन्द्रबाट अध्ययन टोली आएर आवश्यक अध्ययन गरी रिपोर्टका लागि नमुना लिएर फर्किएको छ,’ डा. ढकालले भने, ‘अहिले हामी केन्द्रको रिपोर्ट र विभागबाट आउने निर्देशनको प्रतीक्षामा छौँ ।’ गत साउनको मध्यमा ति पशुहरुको नियमित स्वास्थ्य परीक्षणको क्रमममा ब्रुसेलोसिसको संक्रमणको शंका लागेपछि थप अनुसन्धान अगाडि बढाइएको हो ।

  • भारतबाट ल्याइएको राँगो पनि आइसोलेसनमा

ब्रुसेलोसिसको शंका गरिएका दुई राँगामध्ये एउटा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा भएको सम्झौतापछि भारतबाट नेपाल ल्याइएका राँगामध्ये एक रहेको केन्द्रले जनाएको छ ।

भारतबाट ल्याइएका राँगालाई नेपालमा पशु प्रजनन कार्यक्रमका लागि प्रयोग गर्ने उद्देश्य राखिएको थियो । तीमध्ये एउटा राँगोसमेत अहिले ब्रुसेलोसिसको शंका गरिएका पशुको सूचीमा परेपछि केन्द्रले त्यसलाई अन्य पशुबाट अलग गरेर निगरानीमा राखेको हो । यद्यपि, शंका हुनु र संक्रमण पुष्टि हुनु फरक विषय भएकाले अध्ययन टोलीको परीक्षण प्रतिवेदन नआएसम्म उक्त पशुमा ब्रुसेलोसिस संक्रमण पुष्टि भएको मान्न नमिल्ने प्रमुख डा. ढकालले बताए ।

पोखरा ल्याइएको राँगा मध्य पोहोर ३० साउनमा एउटा राँगा मरेको थियो । पशुपन्छी विकास मन्त्रालयले त्यसको छानविन समिति नै बनाएर अनुसन्धान गरेको थियो ।

  • सिमेन उत्पादनमा समेत उच्च सतर्कता

राष्ट्रिय पशु प्रजनन् केन्द्रमा उन्नत जातका पशुको प्रजनन तथा सिमेन उत्पादनसम्बन्धी काम हुने भएकाले ब्रुसेलोसिसको शंका देखिएपछि पशु स्वास्थ्य सुरक्षालाई थप संवेदनशील रूपमा हेरिएको छ । केन्द्रले ब्रुसेलोसिस अन्य पशु तथा मानिसमा फैलिन नदिन अन्तर्राष्ट्रिय मापदण्डअनुसार आवश्यक सावधानी अपनाइएको जनाएको छ । शंका गरिएका पशुलाई अलग राख्नेदेखि परीक्षण, निगरानी र जैविक सुरक्षाका उपाय अवलम्बन गरिएको डा. ढकालले बताए ।

केन्द्रबाट उत्पादन हुने सिमेनको गुणस्तर कायम राख्ने विषयमा समेत आवश्यक सावधानी अपनाइएको उनको भनाइ छ । ‘ब्रुसेलोसिसको संका भएपछि अरू पशु तथा मानिसमा नसरोस् भनेर अन्तर्राष्ट्रिय मापदण्डअनुसारका सबै मापदण्ड पालना गरेका छौँ,’ डा. ढकालले भने, ‘सिमेनको गुणस्तर कायम राख्ने विषयमा पनि आवश्यक सतर्कता अपनाइएको छ । यहाँ उत्पादित र उत्पादन भइरहेको सिमेनको गुणस्तरमा कुनै संका गर्नुपर्ने ठाउँ छैन ।’

ब्रुसेलोसिस पशुमा देखिने संक्रामक रोग हो । विशेषगरी प्रजननसँग सम्बन्धित पशुमा यसको जोखिम महत्वपूर्ण मानिन्छ । संक्रमित पशुबाट अन्य पशुमा रोग फैलिन सक्ने भएकाले प्रजनन केन्द्रमा यसको निगरानी र नियन्त्रणलाई अझ संवेदनशील विषयका रूपमा लिइन्छ । मानिसमा समेत संक्रमण हुनसक्ने भएकाले शंका गरिएका पशुलाई अलग राखेर परीक्षण गर्नु आवश्यक मानिन्छ ।

  • विभागबाटै इपिडेमियोलोजिकल अध्ययन, प्रतिवेदन आउने क्रममा

ब्रुसेलोसिसको शंका देखिएपछि पशु सेवा विभागले यसको अवस्थाबारे विस्तृत इपिडेमियोलोजिकल अध्ययन गर्न अध्ययन टोली नै गठन गरेर काम गरेको छ । विभागको पत्रअनुसार राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखराअन्तर्गतका केही पशुमा ब्रुसेलोसिसको शंका देखिएपछि विस्तृत अध्ययन गरी आवश्यक सुझावसहितको प्रतिवेदन पेस गर्न टोली बनाइएको हो । टोलीमा पशु सेवा विभाग, भेटेरिनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशाला, केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला तथा पोखरास्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका पशु चिकित्सक सहभागी छन् ।

भेटेरिनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशालाका प्रमुख पशु चिकित्सक डा. सुजन रानाको संयोजकत्वमा टोली गठन गरिएको टोलीले अध्ययन गरेर प्रतिवेदन बुझाउने क्रममा रहेको छ । आफूहरु पोखरा आएर रिपोर्ट लगेको र अवस्थाको बारेमा बुझेको डा रानाले जानकारी दिए । प्रतिवेदन तयार पारेर बुझाउने क्रममै रहेको उनले बताएका छन् । यद्यपी अवस्था कस्तो भन्ने जानकारी भने आँफूले नदिने उनले बताए ।

आफ्नो जिम्मेवारी अध्ययन गरेर प्रतिवेदन बुझाउने भएकोले प्रतिवेदनमा भएको कूरा बाहिर ल्याउन नमिल्ने उनले प्रष्ट्याए । ‘हामीले अध्ययन गरेर प्रतिवेदन बुझाउने क्रममा छौं । हाम्रो जिम्मेवारी सुझावसहित विभागलाई प्रतिवेदन बुझाउने हो । विभागले नै प्रतिवेदन बुझेपछि यथार्थ अवस्था बाहिर ल्याउला हामीले बिचबाट नै सार्वजनिक गर्न मिल्दैन’ उनले भने ।

  • कति छन्, केन्द्रमा पशुपन्छी ?

राष्ट्रिय पशु प्रजनन् केन्द्र पोखरामा प्रजनन तथा पशु स्रोत संरक्षणका लागि विभिन्न प्रजातिका सयौँ पशु छन् । केन्द्रका अनुसार हाल राँगो र साँढे गरी ५८ वटा छन् । त्यस्तै बोयर जातका बाख्रा दुई सय, भेडा दुई सय, भैंसी दुई सय, गाई ५५, कुखुरा दुई सय र बंगुर दुई सय ५० वटा रहेका छन् ।

यसरी ठूलो संख्यामा पशु रहेको र केन्द्रमा प्रजननसम्बन्धी महत्वपूर्ण काम हुने भएकाले ६ वटा पशुमा ब्रुसेलोसिसको शंका देखिएपछि त्यसलाई सामान्य स्वास्थ्य समस्याका रूपमा मात्र नहेरी संक्रमणको अवस्था यकिन गर्न विस्तृत अध्ययन थालिएको हो ।

अहिले सबैभन्दा महत्वपूर्ण विषय अध्ययन टोलीको परीक्षण प्रतिवेदन हो । प्रतिवेदनपछि मात्र शंका गरिएका पशुको वास्तविक अवस्था, अन्य पशुमा संक्रमणको जोखिम र केन्द्रले अपनाउनुपर्ने थप व्यवस्थापनबारे स्पष्ट हुने डा.ढकालले बताए । केन्द्रले भने संक्रमण पुष्टि नभएसम्म कुनै पनि पशुमा ब्रुसेलोसिस भएको निष्कर्ष निकाल्न नमिल्ने र आफूहरू अध्ययन टोलीको रिपोर्ट तथा पशु सेवा विभागको निर्देशनको प्रतीक्षामा रहेको स्पष्ट पारेको छ ।

 

 

  • १३ आश्विन २०८३, मंगलवार २०:५३ प्रकाशित