यी प्रस्ताव पास गर्दै सकियो पोखरा महानगरको १६ औं नगरसभा

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न भएको छ । २८ पुसमा सुरु नगर सभामा पेस भएका सम्पूर्ण प्रस्तावहरूमाथि छलफल गरी सर्वसम्मतिले पास गर्दै शुक्रवार सम्पन्न भएको हो । सभाले भवन नियमित तथा अभिलेखीकरण कार्यविधि (पहिलो संशोधन) २०८१, आर्थिक ऐन संशोधन २०८१, भवन निर्माण तथा पूर्वाधार (पहिलो संशोधन) २०८१, ४ तलामाथिका भवनहरूको सम्बन्धमा तुलनात्मक अध्ययन प्रतिवेदन तथा कार्यविधि निर्माणका लागि कार्यपालिकालाई दिइने निर्देशन समेत सर्वसम्मतिले पारित भएको छ ।

विभिन्न योजना तथा कार्यक्रमको बजेट तथा कार्यक्रम संशोधन, परिमार्जन र रकमान्तरका लागि नगर प्रमुखलाई अधिकार प्रत्यायोजन गर्दै नगर सभाले शिशुवा अस्पतालको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण प्रस्ताव समेत सर्वसम्मतिले पारित गरेको छ । यसअघि कार्यपालिकाको बैठकले निर्णय गरी नगर सभामा पेस गर्नुपर्ने भनी गरेका सम्पूर्ण निर्णयहरू पनि महानगरपालिकाको १६ औँ नगर सभाले अनुमोदन गरेको छ ।

नगरसभाले राजश्व बक्यौता असुली कार्य योजना पनि पारित गरेको छ । राजश्व बक्यौता असुलीका लागि महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाको संयोजकत्वमा २ जना नगर सभा सदस्यहरू, लेखा समितिका १ जना सदस्य, वित्त व्यवस्थापन महाशाखा प्रमुख, नगर प्रहरीको तर्फबाट १ जना सदस्य रहने गरी राजश्व महाशाखाका प्रमुख सदस्य सचिव रहेको एक समिति समेत गठन गरेको छ ।

महानगरपालिकाका विभिन्न क्षेत्रहरूमा हालसाबिकको समस्या रहेकाले त्यसको समाधानका लागि पनि सम्बन्धित निकायहरूमा समन्वय गर्ने प्रस्ताव पनि नगर सभाले पास गरेको छ । नगर सभामा उठेका सबै विषयहरूलाई नगरसभाको अङ्गका रूपमा आत्मसात् गर्दै महानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न गरिएको नगर प्रमुख धनराज आचार्यले बताए । यसअघि नगर सभा सदस्यहरू सुशील बास्तोला, शिवराम भण्डारी, परमेश्वर बहादुर कार्की, विष्णु प्रसाद घिमिरे, सनकमान सिके र कृष्ण सुवेदी लगायतले छलफलमा भाग लिएका थिए ।

  • १२ माघ २०८१, शनिबार ०७:१६ प्रकाशित