कांग्रेससहितका ६९ निवर्तमान सांसदको हस्ताक्षरसहितको पूरक रिट भोलि सर्वोच्चमा दर्ता गर्ने तयारी

केन्द्रभाग मिडिया

काठमाडौं।

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै कांग्रेसका ६६ र अन्य दलका तीनसहित ६९ निवर्तमान सांसदले हस्ताक्षर गरेका छन् ।

त्यो हस्ताक्षरसहितको पूरक रिट भोलि (मंगलबार) सर्वोच्च अदालतमा वारेसमार्फत दर्ता गरिने भएको छ । ती निवर्तमान सांसदहरूले पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीलाई हस्ताक्षरसहितको वारेस दिएका छन् ।

खातीले ६९ निवर्तमान सांसदहरूको हस्ताक्षर आफूसम्म आइपुगेको र भोलि सर्वोच्चमा दर्ता गर्ने जानकारी दिए ।प्रतिनिधिसभा पुनर्स्थापनाका लागि कांग्रेसबाहेक अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले पनि हस्ताक्षर गरेका हुन् । उनीहरूले सिंहदरबारस्थित कांग्रेस संसदीय दलमा पुगेर हस्ताक्षर गरेका हुन् । हस्ताक्षर गर्नेमा जनता समाजवादी पार्टीकी हसिना खान, जनमत पार्टीकी गोमा लाभ सापकोटा र स्वतन्त्र सांसद योगेन्द्र मण्डल छन् ।

यस्तै एमालेका ७५ निवर्तमान सांसदहरूले यसअघि नै प्रतिनिधिसभा पुनर्स्थापना माग्दै सर्वोच्चमा हस्ताक्षर बुझाइसकेका छन् । कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङ तथा सांसदहरू दीपक खड्का, जावेदा खातुन जागा, सिता राना, आशा बिक, शान्ति बिक, नागिना यादवले रिट दायर गरिसकेका छन् । एमालेले मंसिर १० गते र कांग्रेसका निवर्तमान सांसदहरूले मंसिर २३ गते रिट दर्ता गरेका थिए ।

अहिलेको हस्ताक्षर बुझाइएपछि पुनर्स्थापनाको काम गर्ने बहुमत सांसद् पुग्छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सांसदको आवश्यक पर्छ । अहिले हस्ताक्षर बुझाउने २ दलका सांसदको संख्या जोड्दा १४३ हुन्छ ।

  • ७ पुष २०८२, सोमबार १६:५१ प्रकाशित