बुटवल ।
प्रधानमन्त्री केपी शर्मा ओली आज लुम्बिनी जाने भएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको २० औँ वार्षिकोत्सव तथा दीक्षान्त समारोह सहभागी हुन ओली दिउँसो लुम्बिनी जान लागेको बताइएको छ ।
विश्वविद्यालयका रजिस्टार तिलकराम आचार्यले उक्त समारोहमा विश्वविद्यालयका कुलपतिसमेत रहेका केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेलका साथै स्वदेशी तथा विदेशी विशिष्ट पाहुना सहभागी हुने बताए ।
उक्त अवसरमा स्नातकोत्तर तहका १८६, स्नातकका ८८, विद्यावारिधि पूरा गरेका सात र पीजीडीका आठ विद्यार्थी दीक्षित हुनेछन् । प्रत्येक संकायबाट स्नातक तह र स्नातकोत्तर तहमा सर्वोत्कृष्ट १३ विद्यार्थीलाई विश्वविद्यालय स्वर्णपदकबाट सम्मान गरिनेछ।