भारतमा जलेर एकै नेपाली परिवारका पाँच जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

Symbolic picture

कैलाली ।

भारतको बैंग्लोरमा जलेर पाँच नेपालीको ज्यान गएको छ । खाना पकाउने ग्याँस लिक हुँदा जलेर घाइते भएका बझाङको जयपृथ्वी नगरपालिकाका वडा नं. ११, सुइलका एकै परिवारका पाँच जनाको ज्यान गएको हो ।

घाइते भएका जयपृथ्वी नगरपालिका–११ सुइलका मदन बोहरा, उनकी श्रीमती प्रेमजला बोहरा, छोरा प्रशान्त, छोरीहरू अनिता र निताको उपचारका क्रममा ज्यान गएको बताइएको छ ।

बुधबार राति ११ बजेतिर सबै परिवार कोठामै भएको बेला खाना पकाउने क्रममा ग्याँस लिक हुँदा आगलागी भएको थियो ।

झ्याल नभएको कोठामा बसिरहेका उनीहरूको कोठामा ग्याँस लिक भएको र सलाई बाल्ने क्रममा आगलागीबाट बोहरा परिवारका सबै सदस्य जलेर घाइते भएका थिए । घाइते पाँचै जनालाई नजिकै रहेको भिक्टोरिया अस्पताल लगिएको थियो ।

उपचारमा सहयोग गर्न आर्थिक सहयोगमा जुटेकी जमुना पौडेलका अनुसार आज(सोमबार) बिहान घाइतेमध्ये छोरी निता बोहरा र बुवा मदन बोहराको पनि ज्यान गएको हो । ३० वर्षीया प्रेमजलाको शनिवार साँझ ज्यान गएको थियो । यस अघि उनका आठ वर्षीया छोरी अनिता र साढे चार वर्षका छोरा प्रशान्तको जलेर ज्यान गएको थियो ।

मदन विगत ६ वर्षदेखि परिवारसहित भारतमा बस्दै आएका थिए ।

  • २१ जेष्ठ २०८१, सोमबार १६:१६ प्रकाशित