पोखरा ।
नेपाली कांग्रेसको इतर पक्षको गण्डकी प्रदेश अधिवेशन ५ मंसिर देखि पोखरामा हुने भएको छ । इतर पक्षले शुक्रबार पत्रकार भेटघाट कार्यक्रम मार्फत देउवा पक्षीय दोस्रो अधिवेशन तयारी समिति गण्डकी प्रदेशले सो जानकारी दिएको हो । पोखरा सभागृहमा ५ र ६ मंसिरमा प्रदेश अधिवेशन हुने तय भएको छ ।
गण्डकी प्रदेश अधिवेशनमा एक हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने नेता गुरु बरालले जानकारी दिए । उनका अनुसार अधिवेशनमा १८ संघीय निर्वाचन क्षेत्रबाट ३५ जनाका दरले ६ सय ३० जना केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेशका ३६ प्रदेश निर्वाचन क्षेत्रबाट २१ जनाका दरले ७ सय ५६ जना प्रदेश प्रतिनिधि सहभागी हुनेछन् ।
त्यस्तै, १८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रका सभापति, ३६ प्रदेशसभा निर्वाचन क्षेत्रका सभापति, प्रदेशका ८५ वटै पालिकाका पार्टी सभापति र सभापतिबाट मनोनीत ४० प्रदेश प्रतिनिधिसहित विभिन्न भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि तथा प्रदेश र संघीय सांसदहरूको सहभागिता रहने बरालले बताए ।
अधिवेशनले गण्डकी प्रदेश कार्यसमितिको नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनले आगामी कार्यकालका लागि सभापती १, उपसभापती २, महामन्त्री ९खुला २० र सहमहामन्त्री ३ पदाधिकारी चयन गर्ने जनाइएको छ । त्यस्तै, सदस्यमा प्रदेशका ११ जिल्लाबाट ३ जनाका दरले ३३ जना, खुल्ला १० जना तथा विभिन्न समावेशी कोटाबाट १७ जना चयन गर्ने उपसभापती श्रेष्ठले जानकारी दिए ।
प्रदेश अधिवेशनको पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नेछन् । नेपाली कांग्रेस गण्डकी प्रदेशका उपसभापती मेखलाल श्रेष्ठले उद्घाटन शत्रलाई पूर्वप्रधानमन्त्री देउवासहित नेता सशांक कोईरालालगायतका नेताहरुले सम्बोधन गर्ने जानकारी दिए । उनका अनुसार सभागृहमा उद्घाटन शत्र चले पनि ६ मंसिरमा हुने बन्दसत्र तथा निर्वाचन प्रक्रिया भने पोखरा–९, बाँस्तोलाथरस्थित सिल्भर पार्टी प्यालेसमा सञ्चालन हुने छ ।













