हेटौंडा ।
मकवानपुरको भीमफेदी गाउँपालिकास्थित चिसापानी गढीमा बिहीवार बिहान भएको ईभी भ्यान दुर्घटनाका मृतक परिवार शव उठाउन तयार बनेका छन् ।
संघीय सरकारसँग पीडित परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, घाइतेको उपचार खर्च सरकारले व्यहोर्नुपर्ने र परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने माग राख्दै पीडित परिवारका आफन्तले बिहीवारदेखि नै शव उठाउन मानेका थिएनन् । जस कारण शवको पोष्टमार्टम पनि हुन सकेको थिएन ।
आज जिल्ला प्रशासन कार्यालय मकवानपुर, दुर्घटना अध्ययन तथा छानबिन समिति र मृतक परिवारबीच छलफल भएपछि पीडित परिवारले शव उठाउन तयार भएको छानबिन समिति संयोजकसमेत रहेका मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलले जानकारी दिए । उनका अनुसार परिवारसँग सहमति भएसँगै शवको पोष्टमार्टम गर्ने प्रक्रिया पनि अघि बढिसकेको छ ।
सहायक प्रजिअ पौडेलका अनुसार अध्ययन समितिको प्रतिवेदनमा पीडित पक्षको माग पनि समावेश गर्ने, कानुनबमोजिम प्राप्त हुने राहत तथा क्षतिपूर्ति तत्काल उपलब्ध गराउन सरकारसँग पहल गर्ने र थप राहत तथा क्षतिपूर्तिका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आग्रह गर्ने सहमति बारे छलफल भएको हो ।
प्रधानमन्त्री कार्यालयले आजै विज्ञप्ति जारी गर्दै पीडित परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचारमा चासो देखाएको छ । प्रधानमन्त्री कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले राहत र क्षतिपूर्तिका लागि प्रक्रिया अगाडि बढाइसकिएको जानकारी दिएका छन् ।
दुर्घटनामा परेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको इभी हाइस सडकबाट करिब ५०० मिटर तल खस्दा १४ जना यात्रुको मृत्यु भएको थियो । दुर्घटनाको समयमा गाडीमा चालकसहित २० जना सवार थिए । ६ जना घाइते भएका छन् । उनीहरूको हेटौंडा, भरतपुर र काठमाडौंस्थित अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।
दुर्घटनामा ज्यान गुमाउनेमा चालकसहित ६ पुरुष, २ महिला र ३ बालिका रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
सर्लाहीको शुक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका ३५ वर्षीय राकेश यादव, २८ वर्षीय छोटु राय र अन्दाजी १७ वर्षका सुधेश यादव, सर्लाहीकै कबिलासी गाउँपालिका–८ का करिब ३० वर्षीय चालक रविशंकर कुमार मण्डल छन् । अन्य मृतकहरू सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुर टोलका हुन् ।
मृत्यु हुनेमा २६ वर्षीय बिकेश यादव, ३५ वर्षीय पुनम यादव, ७ वर्षीया दिक्षा यादव, ५ वर्षीया दिपिका यादव, १० वर्षीया अनुकुमारी यादव, अन्दाजी ३५ वर्षीय गुड्डु यादव, ३० वर्षीया गायत्री देवी, २५ वर्षीय रामदुलार यादव, २४ वर्षीय सुबोध यादव र १५ वर्षीय रोहन यादव छन् ।












