कबिता गाउँ लुम्लेमा बिनोद गौचनको शालिक निर्माण गरिने

केन्द्रभाग मिडिया

पोखरा ।
समाजसेवी चिनबहादुर केसीले कविता गाउँ लुम्लेका परिकल्पनाकार विनोद गौचनको शालिक निर्माणका लागि जग्गादान गरेका छन् । उनले अन्नपूर्ण गाउँपालिका–६ लुम्ले छेउघर चौतारामुनिको आफ्नो लालपूर्जाभित्रको जग्गा दान गरेका हुन् ।

वडा नं. ६ का वडा अध्यक्ष एकदेव देवकोटाले समितिले लामो समयदेखि गौचनको शालिक निर्माणका लागि बनाएको योजनाले सार्थक रूप लिएकोमा खुसी व्यक्त गरे । अध्यक्ष देवकोटाले दाता केसी परिवारप्रति आभार व्यक्त गर्दै वडाकातर्फबाट पनि शालिक निर्माणका लागि पहल थाल्ने बताए ।

वडा सदस्य तथा जि.स.स. सदस्य गणेश जि.सी.ले लुम्लेलाई साहित्यका माध्यमबाट राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन गौचनले पु¥र्याएको योगदानको स्मरण गरे ।जग्गादाता चिनबहादुर के.सी.ले मान्छे धनको भन्दा पनि चेतनाको धनी हुनुपर्ने धारणा राखे ।

कविता गाउँ लुम्लेका अध्यक्ष भरत देवकोटाले कविता गाउँ लुम्लेका परिकल्पनाकार गीतकार तथा कवि विनोद गौचनको सालिक निर्माणका लागि स्वइच्छाले दिएको दान सिङ्गो लुम्लेवासीका लागि प्रेरणाको विषय बनेको बताए ।
कविता गाउँ लुम्लेका सचिव सुवास गुरुङले यथासक्य छिटो शालिक निर्माणका लागि समिति अब क्रियाशील हुने बताए ।

अर्थशास्त्रमा स्नातकोत्तर गरेका कवि गौचनको जन्म २०१२ जेष्ठ १३ गते पोखरा बगरमा भएको थियो । गौचनका ‘ढुंगेसाँघुको मेलामा’ (२०५५), ‘पोखरामा फूल फुल्दैन’ (२०६३) कृति प्रकाशित छन् ।

उनी ‘तगारोमा रुमाल राखी बाटो छेक्यौ तिम्ले’, ‘कस्तो ठाउँमा फूल्यौं तिमी टिप्नै गाह्रो भो’, ‘चोली फाटे पनि तिम्रो जोवन फाट्या छैन’लगायतका चर्चित गीतका सर्जक पनि हुन् । गौचनले उमेरको २३ औं वसन्तमा लेखेको ‘तगारोमा रुमाल राखी’ गीतमा २०३६ सालमा अरुण थापाले स्वर दिएसँगै तत्कालीन समयमा श्रोताकै आग्रहमा रेडियो नेपालमा दैनिक ८–१० पटकसम्म बज्ने गरेको गीत हो ।

२०७५ पौष २० गते दिवंगत भएका गौचनको परिकल्पनामा लुम्लेलाई २०६५ चैत १५ गते भव्य समारोहबीच कविता गाउँ घोषणा गरिएको थियो ।

  • ९ जेष्ठ २०८१, बुधबार २२:०२ प्रकाशित