फेवातालको स्रोतबाटै जलकुम्भी हटाउने अभियान सुरु

स्रोतको जलकुम्भी पहिलो दिन १५ टिप्पर हटाइयो, दुई हप्तासम्म एक जलारी परिवार एक रोजगारी अभियान अन्तर्गत दैनिक ४० जना खट्टिने

केन्द्रभाग मिडिया

पोखरा ।

फेवाताल ढाक्ने जलकुम्भी स्रोतबाटै हटाउने अभियान आज (आइतबार) बाट सुरु भएको छ । आजबाट बिहानबाट सुरु अभियान कम्तिमा दुई हप्ता निरन्तर चल्ने वातावरण संरक्षणका लागि महाअभियान कास्की एवं नागरिक अभियान्ता रामबहादुर पौडेलले जानकारी दिए ।

वर्षेनी जलकुम्भीले ढाकेर फेवाताल कुरुप बन्नेहुँदा यसवर्षबाट त्यस्तो हुन नदिन स्रोतबाट नै जलकुम्भी हटाउने अभियान सुरु गरिएको उनले बताए । उनका अनुसार आइतबार नेपाली सेना, सशस्त्र प्रहरी, सफाइ अभियान्ता र स्थानीय समेत गरेर सात सयभन्दा बढीको सफाई अभियानमा सहभागिता थियो ।

अभियानको पहिलो दिन १५ टिप्पर जलकुम्भी हटाइएको छ । ‘वर्षा याममा जलकुम्भीले ढाकेर फेवाताल कुरुप बनाउने गरेको छ । त्यसरी अगामी दिनमा ताल कुरुप नहोस् भनेर स्रोतबाटै जलकुम्भी हटाउने अभियान थालेका हौं’ उनले भने ।

जलकुम्भी झार स्रोतमै नियन्त्रण गर्ने अभियानको सशस्त्र प्रहरी गण मालेपाटन (कालिका गण) का प्रमुख, प्रहरी उपरीक्षक अरुण शर्माले शुभारम्भ गरेका हुन् । सुभारम्भ गर्दै ताल तलैया लगायत प्राकृतिक स्रोत, सम्पदा र सम्पत्तिको संरक्षण गर्नु सबैको साझा दायित्व रहेको उनले बताए ।

सशस्त्र प्रहरीको यस्ता अभियानमा सधै साथ रहने उनले प्रतिवद्धता जनाए । डेढ घण्टा चलेको पहिलो दिनको अभियानको समापन पोखरा महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले गरेका हुन् । उनले सबैको हातेमालोले मात्र संरक्षण र विकासका अभियान पूरा हुने धारणा राखे ।

सफाई अभियान शुभारम्भ कार्यक्रममा हाल पोखरा स्थित भगवती दल फूलबारीबाट श्रीकृष्ण दल सुनसरी सरुवा भएका सेना र त्यहाँबाट भगवती दल फूलबारी आएका करिव ३०० सेनाको सहभागिता थियो । त्यसैगरी सशस्त्र प्रहरी गण मालेपाटनबा २०० जना र नागरिक अभियान्तहरु समेत गरेर ७०० भन्दा धेरै सहभागी थिए ।

अभियान्ता पौडेलका अनुसार भोलिबाट हरेक दिन बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म ४० जनाका दरले स्थानीय जलारी समुदाय निरन्तर जलकुम्भी सफाइमा जुट्ने छन् ।

पोखरा महानगरपालिकाको सहयोगमा एक जलारी घर एक रोजगारी कार्यक्रम अन्तर्गत यो अभियान सञ्चालन गरिएको हो । दुई हप्ता विहान ८ देखि दिउँसो ३ बजेसम्म दैनिक ४० जनाले सफाई गर्नेछन् ।

फेवाताल जस्तै बेगनास ताल र अरु तालहरुमा पनि यो अभियान क्रमस चलाईने अभियान्ता पौडेलले बताएका छन् । ‘फेवातालमा सुरु गरेका छौं । यो अभियान बेगनाससहित अन्य तालहरुमा पनि निरन्तर चलाउँछौं । स्रोतबाट नै जलकुम्भी हटाउन सके तालमा फैलन पाउँदैन र समस्या जटिल हुँदैन’ उनले भने ।

 

 

  • ३० बैशाख २०८१, आईतवार १०:४४ प्रकाशित