९८ लाखसहित पक्राउ परेका युवक सुन तस्करीमा पनि संलग्न

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौँ महानगरपालिका–५ स्थित दरबारमार्गबाट स्रोत नखुलेको रकम सहित पक्राउ परेका एकजना सुन तस्करीमा पनि संलग्न देखिएका छन् ।

रुपन्देहीको सियारी गाउँपालिका–७ घर भएका २९ वर्षीय मिलन बिक सुन तस्करीमा फरार अभियुक्त रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिएका छन् ।

बिहीबार उनको बा।१३ च ४८५८ नम्बरको गाडीलाई पछ्याएर डीएसपी सुरक्षा केसी नेतृत्वको टिमले दरबारमार्गबाट ९८ लाख नगद बरामद गरेका थिए । मिलनसँगै गाडीमा सवार रुपन्देहीको सियारी घर भएका २८ वर्षीय समिर सुनार पनि पक्राउ परेका छन् ।

दोलखाबाट बरामद गरिएको साढे ११ किलो सुन तस्करीमा मिलनको संलग्नता देखिएको छ । अनुसन्धानबाट उनको संलग्नता खुलेपछि फरार अभियुक्त कायम गरेर अदालतमा मुद्दा पेस गरिएको एसएसपी भट्टराईले बताए ।

दोलखामा बसेर सो सुनबारे अनुसन्धान गरेका डीएसपी दीपक खड्काका अनुसार मिलनले सुन कारोबारको रकम क्रिप्टोको माध्यमबाट भुक्तानी गराउने गरेका थिए ।

  • २८ बैशाख २०८१, शुक्रबार १५:१८ प्रकाशित