आज अक्षय तृतीया पर्व, जौको सातु र सर्वत खाएर मनाइँदै

केन्द्रभाग मिडिया

काठमाडौं ।

आज अक्षय तृतीया पर्व जौको सातु र सर्वत खाएर मनाइँदैछ । गर्मी बढ्ने समयमा शीतलता प्रदान गर्ने आहारको रुपमा जौको सातु र सर्वत पानी खाएर अक्षय फल प्राप्ति होस् भन्ने कामनाका साथ हिन्दुधर्मालम्बीले यो पर्व मनाउने गर्छन् । यस तिथिमा पितृ तर्पण गरिन्छ ।

वैशाख महिनाको शुक्ल पक्षको तृतीया तिथिलाई नै अक्षय तृतीया भनिन्छ । अक्षयको अर्थ हुन्छ कहिल्यै क्षय नभएर स्थायी रहिरहने भएकाले यस पर्वलाई अक्षय तृतीया भनेर भनिएको हो ।

वैशाख शुक्लपक्ष तृतीयाका दिन दालचिनी ल्वाङ सुकुमेल अलैंची मह चिनी सख्खर र मिस्री मध्ये एक चिज लगाई सर्बत सँगै र जौको सातु दान गर्ने प्रचलन छ । आजका दिन सातु र सर्वत बनाएर दान गरेमा सम्पूर्ण दोष नाश हुनुका साथै पितृ दोष पनि पूर्णरूपले हट्ने शास्त्रमा उल्लेख गरिएको छ ।

आज बुढाबुढीलाई छाता लौरो र कपडाको जुत्ता दान गर्ने तथा गच्छे भए गाई जमिन अन्न र सुन पनि सत्पात्रलाई दान दिइने गरिन्छ ।

चार युगमा सत्य युग र त्रेता युगको प्रारम्भ यसै तृतीया तिथिबाट भएको हो । यसकारणले यस तिथिलाई ‘युगाद्वीतिथि’ पनि भनिन्छ । चार धाममध्ये एक बद्रीनाथ धामको ढोका यसै दिन अर्थात अक्षय तृतीय तिथिकै दिन खोलिन्छ ।

यस शुभ तिथिमा गरिएका दान पूजन हवन दक्षिणा या कुनै पुण्य कार्यको अक्षय फल प्रदान गर्ने किसिमको हुन्छ भन्ने गरिन्छ । यो एक स्वयं सिद्ध मुहूर्त हो ।

 

  • २८ बैशाख २०८१, शुक्रबार ०८:१७ प्रकाशित