आठौं संस्करणको पोखरा स्पोर्टस अवार्ड आज

केन्द्रभाग मिडिया

पोखरा ।

आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड  आज हुँदैछ । खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा प्रत्येक वर्ष आयोजना हुने स्पोर्ट्स अवार्ड समारोह आज (शुक्रबार) दिउँसो ठिक २ः४५ बजेदेखि पोखरा सभागृह हलमा सुरु हुनेछ ।

वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफ टाइम अचिभमेन्ट अवार्ड, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेलकुद संस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकार गरेर ७ विधामा अवार्ड प्रदान गरिने खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीनानाथ बरालले बताए । यि मध्येमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी गरेर चारवटा विधाको उत्कृष्ट तीन मनोनयन सार्वजनिक भैसकेको छ ।

जस अनुसार वर्ष खेलाडी पुरुष विधामा क्रिकेटका अर्जुन कुमाल, टेनिसका प्रदीप खड्का र भलिबलका हिमाल सुनारी मनोनयनमा परेका छन् । वर्ष खेलाडी महिला विधामा आर्चरीकी अनुस्का शेरचन, भलिबलकी अरुणा शाही र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर रहेका छन् । वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जी ब्राण्डको इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्ने अध्यक्ष बरालले खुलाए ।

१७ वर्ष मुनिका खेलाडीबीच प्रतिष्पर्धा हुने उदियमान खेलाडी विधामा क्रिकेटकी ज्योत्सनिका मरासिनी, व्याडमिन्टनकी दिलासा राना र एथलेटिक्सका बादल कार्की रहेका छन् । उत्कृष्ट प्रशिक्षक विधामा टेनिसका नीरज थापा, भलिबलका रमेश केसी र क्रिकेटका रिजन प्रजु छन् । वर्ष उत्कृष्ट उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक तर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने छन् । उत्कृष्ट ३ को मनोनयन सूचीमा परेकाहरुलाई मनोनयन ट्रफी प्रमाणपत्र प्रदान गरिनेछ ।

यस्तै यो वर्षको लाइफटाइम अचिभमेन्ट अवार्ड एथलेटिक्स प्रशिक्षक इन्द्रा मल्ललाई प्रदान गर्ने घोषणा भैसकेको छ । मल्ललाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिनेछ । वर्ष उत्कृष्ट खेल संस्था वा क्लबतर्फको अवार्ड सहारा क्लब पोखरालाई प्रदान गरिनेछ । वर्ष उत्कृष्ट खेल पत्रकारतर्फको अवार्ड रोहितराज पराजुलीलाई अर्पण गरिनेछ । वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट पत्रकार तर्फका अवार्ड विजेताले नगद ३५ हजार रुपैयाँको साथमा अवार्ड पाउने छन् ।

ओलम्पियन खेलाडी नारायण गुरुङ र टेनिसको अन्तरराष्ट्रिय वरियता प्राप्त खेलाडी अभिषेक बाँस्तोलालाई विशेष (स्पेशल) अवार्डबाट सम्मान गर्ने निर्णय समेत खेलकुद पत्रकार मञ्च गण्डकीको ३९ औं बैठकले गरेको महासचिव राजाराम पौडेलले जानकारी दिए ।

प्रवेश निःशुल्क रहने अवार्ड कार्यक्रममा चर्चित गायक प्रकाश सपुत, सन्तोष बस्याल, निर्मल दाहाल, नृत्यतर्फ तरेली साँस्कृतिक परिवारको लाठी नाच, कौरा र झ्याउरे नृत्य तथा बि बोइङ गण्डकीको प्रस्तुती समेत रहने महासचिव पौडेलले खुलाए ।

अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने प्रदेश खेलकुद परिषद गण्डकीले सहकार्य गरेको छ । पोखरा महानगरपालिकाको समन्वयमा हुने कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदले सघाउनेछन् । प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय रहेको छ ।

उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार टाईगर गुप्र अफ पोखरा नेपाल, वर्ष उत्कृष्ट खेल पत्रकारको पुरस्कार स्व। सेनानी हेमबहादुर पुनको परिवार, लाइफटाइम अचिभमेन्ट अवार्ड सुपर मादी हाइड्रो पावर लिमिटेडले प्रायोजन गर्ने सम्झौता भएको छ ।

प्रवेश निःशुल्क रहने अवार्ड कार्यक्रममा उपस्थित भएर खेलाडी, प्रशिक्षक तथा आयोजकलाई हौसला बढाउन सम्पूर्ण सञ्चारकर्मी र खेलप्रेमीलाई मञ्च गण्डकीले अनुरोध समेत गरेको छ । मञ्च अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा उपाध्यक्ष सुरज श्रेष्ठ र महासचिव राजाराम पौडेलले समेत अवार्ड कार्यक्रमको तयारीका बारेमा बोलेका थिए ।

 

  • २८ बैशाख २०८१, शुक्रबार ०६:३३ प्रकाशित