तेस्रो टी–२०

नेपाल र वेस्ट इन्डिजबिच तेस्रो खेल आज

केन्द्रभाग मिडिया

काठमाडौँ । नेपाल र वेस्ट इन्डिजको ‘ए’ टोलीबिचको तेस्रो टी–२० क्रिकेट बुधबार खेलिने छ । खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अपराह्न १२ः१५ बजे सुरु हुनेछ । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको पाँच खेलको शृङ्खला हाल १–१ को बराबरीमा छ ।

शृङ्खलाको पहिलो खेलमा घरेलु टोली नेपालले वेस्ट इन्डिजलाई चार विकेटले पराजित गरेको थियो । शृङ्खलाको दोस्रो खेलमा भने भ्रमणकारी टोली वेस्ट इन्डिजले नेपालमाथि १० रनको रोमाञ्चक जित हासिल गरेको थियो ।

शृङ्खलाको पहिलो खेलमा टस हारी पहिले ब्याटिङको निर्णय लिएको वेस्ट इन्डिजले निर्धारित ओभरमा पाँच विकेट गुमाएर दुई सय चार रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १९।४ ओभरमा ६ विकेट गुमाएर दुई सय ६ रन बनाउँदै विजय लक्ष्य पार गरेको थियो ।

यसैगरी दोस्रो खेलमा टस जिती पहिले ब्याटिङ रोजेको वेस्ट इन्डिजले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ६० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ५० रनमात्र बनाउन सकेको थियो ।अघिल्ला दुबै खेलमा नेपाली टोलीका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरेका थिए ।

  • १९ बैशाख २०८१, बुधबार ०८:५८ प्रकाशित