एसीसी प्रिमियर कप 

सेमिफाइनलमा नेपाल यूएईसंग पराजित

केन्द्रभाग मिडिया

 

पोखरा ।
एसीसी प्रिमियम कपको सेमिफाइनलमा नेपाल
यूएईसंग पराजित भएको छ ।

शुक्रबार भएको पहिलो सेमिफाइनलमा यूएईसँग ६ विकेटले पराजित भएसँगै नेपालको प्रिमियर कपको फाइनल खेल्ने सपना सकिएको हो ।

अब नेपालले तेस्रो स्थानका लागि हङकङ र ओमानबीचको खेलमा पराजित हुने टोलीसँग खेल्नेछ ।

यूएईसँगको हारले नेपालको एसिया कप खेल्ने चाहना पनि अधूरै रहेको छ । नेपालले अब टी–२० विश्वकपको तयारीका लागि घरेलु मैदानमा वेष्ट इन्डिजसँग पाँच खेलको टी–२० सिरिज खेल्नेछ ।

नेपालले दिएको १ सय २० रनको सामान्य लक्ष्य यूएईले १६ बल अगावै ४ विकेटको क्षतिमा भेट्टाएको हो ।

नेपालका गुल्सन झाले २ विकेट लिए । सोमपाल कामी र ललित राजवंशीले समान एक विकेट झारे। यूएईका लागि लागि आलिसान सराफु ५१ रनमा नटआउट रहे । विष्णु सुकुमारनले २८ तथा सायद हैडरले १४ रन बनाए ।

त्यसअघि ओमानको अल अमरेत क्रिकेट मैदान टर्फ १ मा यूएईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १९ रनको योगफल तयार पारेको थियो।

यूएईविरुद्ध खराब ब्याटिङ गरेको नेपालका लागि सन्दीप जोराले अर्धशतक पूरा गरे । ३९ बलमा ४ चौका र २ छक्का मद्धतमा अर्धशतक पूरा गरेका सन्दीप मोहम्मद फारुकको बलमा क्याच आउट भए ।

गुल्सन झा २० रन बनाउँदा क्याच आउट हुन पुगे । १६ बलमा १ चौका र १ छक्का हानेका गुल्सन जुनैद सिद्दीकीको बलमा क्याच आउट भए ।

करण केसीले १७ रन थपे। १२ बलमा २ छक्का हानेका करण अलि नसिरको बलमा बोल्ड आउट भए। अन्य कुनै ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

ओपनर आशिफ शेख ८ रन बनाउँदा आउट भए। चौथो ओभरको तेस्रो बलमा अ‍ोपनर आशिफ एलबीडब्लु धरापमा परे। इनिङस्को पहिलो बलमा नै ओपनर कुशल भुर्तेललाई गुमाएको नेपालले चौथो ओभरमा अर्का ओपनरलाई गुमाएको थियो।

कप्तान रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले समान ५ रन बनाउँदै आउट भए। नेपालले चौथो विकेटको रुपमा कुशल मल्ललाई गुमाएको थियो। ५ बलमा ३ रन बनाएका कुशल बसिर अहमदको बलमा बोल्ड आउट भए ।

  • ७ बैशाख २०८१, शुक्रबार १५:३२ प्रकाशित