एसीसी प्रिमियर कप

सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै

केन्द्रभाग मिडिया

पाेखरा ।

ओमानमा जारी एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनलमा आज (शुक्रबार) नेपाल र यूएई भिड्न लागेका हुन् । फाइनल प्रवेशका लागि दुबै टिमका लागि जित अनिवार्य छ ।

ओमानको अल अमरेत क्रिकेट मैदान टर्फ १ मा खेल बिहान ११ः४५ बजे सुरु हुनेछ । नेपालका लागि आजको खेल निकै महत्वपुर्ण छ।

नेपाली टोली आजको खेलमा दुई वर्ष अघि सोही मैदानमा भोगेको हारको बदला लिने दाउमा छ ।

टी–२० क्रिकेटमा नेपाल र युएई ५ महिनापछि भेट हुन लागेका हुन् । यी दुई टोली पछिल्लो पटक गत मंसिरमा घरेलु मैदानमा भएको आईसीसी टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा भेट भएका थिए ।

माथिल्लो मुलपानी मैदानमा भएको खेलमा नेपालले युएईलाई ८ विकेटले पराजित गर्दै १० वर्षपछि विश्वकपको ढोका खोलेको थियो ।

नेपालले घरेलु मैदानमा नै युएईलाई रोक्दै विश्वकपको ढोका त खोल्यो तर त्यो बेलाको हारको बदला यही मैदानमा लिने उत्कृष्ट अवसर समेत छ ।

युएई भने आजको खेलमा ५ महिना अघिको हारको बदला लिर्दै प्रिमियर कपको फाइनलमा पुग्न चाहान्छ। तर नेपाली टोली भने आफ्नो लयलाई कायम राख्दै अपराजित रहेर फाइनल खेल्ने दाउमा छ ।

प्रिमियर कपको समुह ए मा रहेको नेपाल अपराजित रहेर सेमिफाइनल खेल्न लागेको हो। युएई भने समुह बी को उपविजेता बन्दै नेपालसँगको भेट पक्का गरेको हो ।

नेपालले समुह चरणका चार खेलमा चार जित निकालेको हो । युएई भने समुह चरणमा ओमानसँग मात्र हार व्यहोरेको थियो ।

प्रिमियर कपको विजेताले टी २० एसिया कपमा स्थान बनाउनेछन् । एसिया कपमा पुग्ने टोलीले भारत र पाकिस्तानसँग खेल्ने मौका पाउनेछन् ।

  • ७ बैशाख २०८१, शुक्रबार ०६:३६ प्रकाशित