पोखरामा होली शान्तिपूर्ण, कसैलाई नियन्त्रणमा लिन नै परेन : प्रहरी

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा होली शान्तिपूर्ण रुपमा मनाइएको कास्की प्रहरीले जानकारी दिएको छ । विगतका वर्षहरुमा जस्तो यसपाली कतैपनि झैझगडा नभएको र कसैलाई पनि नियन्त्रणमा लिन नपरेको कास्की प्रहरी सहायक प्रवक्ता प्रहरी इनिस्पेक्टर तीलक मानन्धरले जानकारी दिए ।

‘यसपालीको होली पोखरामा शान्तिपूर्ण रह्यो । कहिँकतै कुनैप्रकारको झैझगडा भएन र हामीले कसैलाई नियन्त्रणमा लिन पनि परेन ।’ उनले भने, ‘हामी निकै नै खुशी छौं’

कास्की प्रहरीका अनुसार होलीमा हुन सक्ने विभिन्न खालका अवाञ्छित गतिविधिलाई मध्यनजर गरेर पोखरामा ५ सय प्रहरी खटाइएको थियो । पोखराका विभिन्न १४ वटा स्थानमा चेकपोइन्ट तोकेरै चेकजाँच गरिएको थियो । तर पोखरामा विहानै देखि हर्सोल्लासका साथ होली मनाइएको र कुनैपनि प्रकारको अवाञ्छित घटना नभएको प्रहरी इनिस्पेक्टर मानन्धरले बताए । ‘पोखरालाई लक्षित गरेर हामीले विभिन्न सुरक्षा रणनीति बनाएका थियौं । त्यही अनुरुप विहानैदेखि चेकजाँच पनि गरेका थियौं ।’ उनले भने ।

  • ११ चैत्र २०८०, आईतवार २२:०१ प्रकाशित