कांग्रेस महासमिति बैठक : हिन्दूराष्ट्रका पक्षमा ६ सय नेताले गरे हस्ताक्षर

केन्द्रभाग मिडिया

काठमाडौँ ।

ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा हिन्दूराष्ट्र स्थापना अभियानमा ६ सय प्रतिनिधिहरुले हस्ताक्षर गरेको दाबी गरिएको छ । महासमिति बैठक स्थलमा राखिएको हस्ताक्षर संकलन कक्षमा हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर अभियान जारी राखिएको अभियन्ता लोकेश ढकालले जानकारी दिए ।

मंगलबार मात्र पूर्वमहामन्त्री एवं केन्द्रीयसदस्य डा.सशांक कोइराला र पूर्वसभामुख एवं पूर्वमहामन्त्री तारानाथ रानाभाटले पनि हस्ताक्षर गरेका छन् । मंगलबार बिहानसम्म ६ सयभन्दा बढी महासमिति सदस्यहरूले हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर गरिसकेको ढकालले जानकारी दिए । त्यसमा ३५ भन्दा बढी केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन् ।

कांग्रेसको केन्द्रीय समिति बैठकमा २२ जना केन्द्रीय सदस्यहरुले हिन्दु राष्ट्रका पक्षमा २०८० फागुन ४ गते लिखित प्रस्ताव गरेका थिए । महासमिति बैठकमा हिन्दु राष्ट्रका बारेमा प्रतिनिधिहरुले व्यक्तिगत धारणा राख्ने जनाएका छन् । तर कांग्रेसको इतर समूहका केही नेता, मुस्लिम संघ, आदिवासी जनजाति संघलगायत केही भातृ एवं शुभेच्छुक संस्थाहरु उक्त अभियानको विरुद्धमा उभिएका छन् ।

  • ८ फाल्गुन २०८०, मंगलवार १६:४१ प्रकाशित