छोरी बचाउ राष्ट्रिय जागरण अभियान सुरु गर्न नेकपाको प्रस्ताव

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले देशका विभिन्न स्थानमा बालिकाहरूमाथि भइरहेका हिंसा र असुरक्षालाई मध्यनजर गर्दै ‘छोरी बचाउ राष्ट्रिय जागरण अभियान’ सुरु गर्न सरकारसँग माग गरेको छ। सोमबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा नेकपाका प्रमुख सचेतक युवराज दुलालले सरकारको ध्यानाकर्षण गराएका हुन्।

बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कार र हत्याको हृदयविदारक घटनाप्रति दलको तर्फबाट दुःख व्यक्त गर्दै दुलालले अब राज्यस्तरबाटै जागरणको आवश्यकता रहेको बताए। ‘कोपिलामै खोसिएका यस्ता हृदयविदारक घटनाप्रति हामी स्तब्ध छौँ,’ उनले भने, ‘अब ढिला नगरी सरकारले ‘छोरी बचाउ राष्ट्रिय जागरण अभियान’ सुरु गरोस् भन्ने म आह्वान गर्दछु।’

दुलालले प्रधानमन्त्री बालेन शाहको कार्यशैलीप्रति पनि कडा आपत्ति जनाए । हालै कास्की र मुस्ताङ भ्रमणका क्रममा प्रधानमन्त्रीले भीभीआईपी प्रोटोकलको ख्याल नगरेको भन्दै उनले आलोचना गरे । ‘सरकारबिनाको राज्य र प्रधानमन्त्रीबिनाको सरकार कल्पना गर्न सकिँदैन। प्रधानमन्त्री भनेको सार्वजनिक व्यक्ति हो, उहाँले आफ्नो र राज्यको गरिमा झल्किने गरी प्रोटोकलको ख्याल गर्नुपर्छ,’ दुलालले भने। उनले प्रधानमन्त्रीको व्यक्तिगत चाहनाभन्दा राज्यको विधि र पद्धति ठुलो हुने भन्दै सचेत गराए।

दुलालले बढ्दो महँगीको विषयलाई लिएर अर्थमन्त्री स्वर्णिम वाग्लेको ध्यानाकर्षण गराए। सर्वसाधारणले महँगीका कारण जीवन धान्न मुस्किल भइरहेको भन्दै उनले अर्थमन्त्रीले ठोस कदम चाल्नुपर्ने बताए।

यस्तै, नेपालको प्राकृतिक स्रोतको उपयोगका बारेमा बोल्दै उनले नेपालको पानी निर्यातका लागि थुप्रै कम्पनीहरू अनुमति पर्खिरहेको जानकारी दिए।

  • ८ भाद्र २०८३, सोमबार १६:३८ प्रकाशित