कानुन संशोधन गरेर जघन्य अपराधमा संलग्नलाई कडा कारबाही गर्न सांसदहरुको माग

केन्द्रभाग मिडिया

प्रतिनिधिसभाका सदस्यहरुले विद्यमान कानुनी व्यवस्था संशोधन गरेर बलात्कार, यौनहिंसा र हत्याजस्ता जघन्य अपराधमा संलग्नमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

सभाको आजको शून्य समयमा सांसदहरुले आगामी दिनमा त्यसखाले घटना हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन, जनचेतना अभिवृद्धि गर्न र अपराधिक घटनामा संलग्नलाई हदैसम्मको सजायको व्यवस्था गर्न सरकारलाई सुझाव दिए ।

सांसद अनुश्का श्रेष्ठले बलात्कारलगायत जघन्य अपराधमा संलग्नलाई कडा कारबाही गर्ने व्यवस्था मिलाउन माग गरिन् । सांसद अफ्साना बानुले संविधान संशोधन गरेरै भए पनि जघन्य अपराधमा संलग्नलाई कडा सजायको व्यवस्था गर्नुपर्ने धारणा राखिन् । सांसद डा अमरेशकुमार सिंहले अराजकता, अस्थिरता, हत्याहिंसा र बलात्कारको घटना नियन्त्रण गर्न सरकार गम्भीर ढङ्गले प्रस्तुत हुनुपर्ने बताए । सांसद अरविन्द साहले मधेस प्रदेशका केही जिल्लामा आपराधिक घटना वृद्धि भएको जनाउँदै सुरक्षा व्यवस्था प्रभावकारी बनाउन माग गरे ।

बैठकमा सांसद आकृति अवस्थी, आशिका तामाङ, एलिजा गुरुङ, कन्हैया बनिया, क्रान्तिशिखा धिताल, खगेन्द्र सुनार, गीताकुमारी सेन्दाङ, गुरुप्रसाद बरालले जघन्य अपराध रोक्न सुरक्षा व्यवस्था मजबुद बनाउन सरकारलाई सुझाव दिए । सांसदहरु एशुदाकुमार बराल, आनन्दबहादुर चन्द, उत्तमप्रसाद पौडेल, कामिनी कुमारी, कालीबहादुर सहकारी, कुशुम महर्जन, आशा झा, खिमा विक, खेमराज कोइराला, गणेश कार्की, गणेश धिमाल, गोपाल शर्मा, गङ्गालक्ष्मी अबाल, चन्दनकुमार सिंह र चन्द्रेश्वर मण्डलले छोरीचेलीलाई सुरक्षित जीवन जीउने अवस्था सुनिश्चित गर्न का सरकारको ध्यानाकर्षण गराए । रासस

  • ८ भाद्र २०८३, सोमबार १६:३४ प्रकाशित