फेवा किनारमा आज देखि लिटरेचर फेस्टिभल हुँदै

देशविदेशका २ सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, पत्रकार, कलाकार, सम्पादक एवं विशिष्ट व्यक्ति उपस्थिति रहने

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभल– २०२४ आजबाट पोखरामा सुरु हुँदैछ । फेवा किनारमा ५ दिनसम्म चल्ने फेस्टिभलको सबै तयारी पुरा भएको र उद्घाटनको प्रतिक्षामा रहेको आयोजक मध्येका एक अजीत बरालले जानकारी दिएका छन् । उनका अनुसार आज दिउँसो ३ बजे गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नेछन् ।

उद्घाटन समारोहमा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले संविधान र सुशासन विषयमा विद्वत्प्रवचन दिने छन् । बुक वर्म फाउन्डेसनले आयोजना गर्न लागेको ११ औं संस्करणको यो फेस्टिभलमा कार्टुनका वादशाह दुर्गा बराल वात्स्यायनको कार्टुन संग्रह ‘वात्स्यायन एन्ड बाब्र्स’ पुस्तक विमोचन हुनेछ । त्यसपछि ‘गोर्खा वुमन’ शीर्षकमा दृश्यकला प्रदर्शनीको उद्घाटन हुने आयोजक संस्थाका कार्यकारी निर्देशक नीरज भारीले बताए । साँझमा काब्यिक एवं सांगीतिक प्रस्तुति कुमार नगरकोट रिसाइटेसन विथ कुटुम्ब हुनेछ ।

आयोजकका अनुसार दोस्रो दिनदेखिका सेसन प्रत्येक दिन बिहान ११ बजेबाट सुरु हुनेछन् । फेस्टिभलमा विश्वप्रसिद्ध लेखक काई बर्ड आउने छन् । चर्चित ‘अमेरिकन प्रोमिथियस’ का लेखक एवं विश्वप्रसिद्ध पुलिट्जर प्राइज विजेता बर्डको पुस्तकमा आधारित ‘ओपन हाइमर’ चलचित्रसमेत बनेको छ । ५ दिनसम्म चल्ने फेस्टिभलमा ५५ भन्दा बढी सेसन, सांगीतिक साँझ र थप रोचक सामग्री समावेश गरिने अजीत बरालले बताए । उनका अनुसार फेस्टिभलमा यस वर्ष पनि देशविदेशका २ सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, पत्रकार, कलाकार, सम्पादक एवं विशिष्ट व्यक्तित्वको उपस्थिति रहनेछ ।

फेस्टिभलमा प्रसिद्ध भारतीय लेखिका ज्यानिस प्यारियट पनि फेस्टिभलमा आउँदै छिन् । उनको पुस्तक एभ्रिथिङ द लाइट टचेजका बारेमा उनले फेस्टिभलमा चर्चा गर्ने छिन् । उनको यस पुस्तकले उत्कृष्ट आख्यानका लागि ‘सुशीलादेवी अवार्ड’ पाएको थियो । यस्तै, विश्वप्रसिद्ध समालोचक एवं उपन्यासकार चन्द्रहास चौधरी पनि देखिने छन् । उनले ‘क्लाउड्स र अर्जी द ड्वार्फ’ पुस्तक लेखेका छन् । उनको ‘अर्जी द ड्वार्फ’ पुस्तक कमनवेल्थ फस्ट बुक प्राइज का लागि सर्टलिस्टसमेत भएको थियो ।

  • ३ फाल्गुन २०८०, बिहीबार ०९:०४ प्रकाशित