पोखरामा स्कुल बसले ठक्कर दिँदा तीन वर्षीय बालकको ज्यान गुम्यो

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरामा स्कुल बसले ठक्करबाट तीन वर्षीय बालकको ज्यान गुमेको छ । बाल प्रतिभा बोर्डिङ स्कुलमा कक्षा नर्सरीमा अध्ययनरत बालक समिर कार्कीको सोही स्कुलको बसले ठक्कर दिँदा ज्यान गुमेको हो ।

पोखरा महानगरपालिका वडा नम्बर–२४ स्थित बाल प्रतिभा बोर्डिङ स्कुलको ग.१ क.४०८२ नम्बरको बसले पोखरा–२४ काउलेमा शुक्रबार दिउँसो २ः४५ बजे सोही बसबाट झरेर घर जान लागेका उनलाई ठक्कर दिएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते भएपछि उद्धार गरेर उनलाई उपचारका लागि मेट्रोसिटी अस्पताल ल्याइएको थियो । उनको उपचारका क्रममा दिउँसो ४ बजे ज्यान गुमेको कास्की प्रहरीले जनाएको छ ।

ज्यान गुमाउने बालक कास्कीकोटका तेजबहादुर कार्कीका छोरा रहेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको उनले बताए ।

  • ५ माघ २०८०, शुक्रबार २०:३२ प्रकाशित