सहकारी ठगी प्रकरण

मित्र मिलन सहकारीका लेखा समिति संयोजक अधिकारी पक्राउ

पक्राउ पर्नेको संख्या ७ पुग्यो, अझै २७ जना फरार, छिट्टो पक्राउ गर्न आग्रह गर्दै पीडितले दिए प्रशासनमा ज्ञापन पत्र

केन्द्रभाग मिडिया

पोखरा ।

मित्र मिलन सहकारीमा ठगि आरोपमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका सञ्चालक लेखा समिति संयोजक सूर्य अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

बिजय मावि पोखरा १३, ढॅाडबेशीका शिक्षक समेत रहेका अधिकारीलाई उनको घर पोखरा–१३, कसेरी बौरीबोटबाट हिजो बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

अधिकारीलार्ई आजै जिल्ला अदालत कास्कीमा पेश गरिएको डिएसपी विकले बताए । यस अगाडि अध्यक्ष रमण पौडेल, सदस्य गोपाल खनाल, कार्याकारी अधिकृत किरण अधिकारी, सल्लाहकार सदस्य राजु बराल र सेयर सदस्य बुद्धिसागर पौडेल, सोही सहकारीको सेवा विस्तारका क्रममा घुस लिएको आरोपमा सहकारी रजिष्टारको कार्यालय पोखराका पूर्व रजिष्ट्रार उदयबहादुर पराजुली समेत पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।

उक्त सहकारीका ३३ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । जस मध्ये अझै २६ जना फरार छन् ।

अभियुक्तलाई छिट्टो पक्राउ गर्न माग गर्दै प्रशासनलाई पीडितको ज्ञापनपत्र

यसैबिच मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाका पीडितहरुले सहकारी ठगीमा संलग्नलाई तत्काल पक्राउ गरि पीडितलाई न्याय दिन कास्की प्रशासनमा ज्ञापन पत्र बुझाएका छन् । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीलाई उनीहरुले आज ज्ञापनपत्र बुझाएका हुन् ।

पीडितहरुले १७ मंसिरमा जिल्ला प्रहरी कार्यालय कास्कीमा सामुहिक जाहेरी जाहेरी दिएको भएपनि पीडकहरु खुलेआम हिडिरहेका र प्रशासन मुकदर्शक भएको उनीहरुले आरोप लगाएका छन् । पीडितलाई पक्राउ गरि कानुनी दायरामा ल्याउन माग गरेका हुन् ।

ज्ञापनपत्र बुझ्दै सहायक सिडिओ क्षेत्रीले उक्त सहकारीको मुद्दा प्रहरी र जिल्ला वकिलको कार्यालय हुँदै अदालतमा प्रवेश गरिसकेकाले कानून बमोजिम हुने बताए । केही पक्राउ परेका र पक्राउ नपरेकाहरु पनि कानूनी दायरा भन्दा बाहिर जान नसक्ने उनको भनाई थियो ।

 

 

  • २६ पुष २०८०, बिहीबार १६:११ प्रकाशित