चिसोले मधेशको जनजीवन कष्टकर, सिरहाका विद्यालयहरू धमाधम बन्द

केन्द्रभाग मिडिया

File photo

सिरहा ।

चिसो बढ्न थालेपछि मधेशको जनजीवन कष्टकर बन्न थालेको छ । चिसोको कारण सिराहाका सामुदायिक विद्यालयहरू धमाधम बन्द हुन थालेका छन् । शितलहर तथा चिसोका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भन्दै पालिकाहरूले विद्यालय बन्दको सूचना जारी गरेका हुन् ।

सिराहाको गोलबजार नगरपालिकाले सूचना जारी गर्दै ७ दिनको लागि विद्यालय बन्द रहने सूचना जारी गरेको छ । शिक्षा शाखा अधिकृत सुबोध कुमार लामाद्वारा जारी सूचनामा माघ २ गते मात्र विद्यालय खुल्ने उल्लेख गरेको छ ।

चिसोले विद्यालयको पठनपाठन प्रभावित भएको भन्दै लक्ष्मीपुर पतारी गाउँपालिकाले पनि आजबाट लागु हुने गरी एक हप्ता जाडो बिदा दिएको छ । गाउँपालिकाका शिक्षा अधिकृत रामबालक पासमानले सूचना जारी गर्दै मंगलबारदेखि लागू हुने गरी आगामी २ माघसम्म जाडो बिदा दिइएको जनाएका छन् । त्यसैगरी नगरहा गाउँपालिकाले पनि विद्यालय जाडो बिदा दिएको छ ।

पछिल्लो केही दिनयता बाक्लो हुस्सु र कुहिरोसँगै तापक्रम घटेपछि जनजीवन प्रभावित बन्दै आएको छ । बाक्लो हुस्सु र कुहिरो प्रायः दिउँसोसम्म लाग्ने गरेकाले जनजीवन प्रभावित बनेको हो ।

बाक्लो हुस्सु र चिसो हावाका कारण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी निकै बढेको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले जनाएको छ । दुधे बालकदेखि ६० वर्षसम्मका वृद्धवृद्धा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनिया लगायतका प्रकोपबाट पीडित भएका छन् ।

  • २५ पुष २०८०, बुधबार १६:०७ प्रकाशित