पक्राउ परेका रामबहादुर बम्जन सार्वजनिक

केन्द्रभाग मिडिया

File photo

काठमाडौँ ।

‘तपस्वी’ को भेषमा अपराध मच्चाएका रामबहादुर बम्जनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सार्वजनिक गरेको छ । बुधबार आयोजित पत्रकार सम्मेलनबाट सीआईबीले उनलाई सार्वजनिक गरेको हो ।

मंगलबार पक्राउ परेका बम्जनको साथबाट प्रहरीले ३ करोड ३४ लाख ३७ हजार ९०६.७ रुपैयाँ बरामद गरेको छ । विभिन्न १७ देशका विदेशी मुद्रासहित उनको साथबाट उक्त परिमाणको नेपाली रुपैयाँ बरामद भएको सीआईबीका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

उनलाई पक्राउ गरिएकोबारे औपचारिक जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा उनलाई बूढानीलकण्ठ नगरपालिका, वडा नं ६, टन गाउँबाट पक्राउ गरिएको जानकारी दिइयो । उनको साथबाट प्रहरीले मोबाइलमात्रै १४ थान बरामद गरेको छ ।

२०७१ श्रावनदेखि बाराको हलखोरियामा बम्जनको आश्रममा रहेकी आनीले उनीविरुद्ध यौन शोषणको उजुरी दिएकी थिइन् । बाल यौन शोषण गरेको मुद्दा लागेपछि फरार रहेका बाराको रतनपुरी स्थायी वतन भएका बम्जनलाई पक्राउ गर्न सर्लाही जिल्ला अदालतले २०७६–१०–२३ अनुमति दिएको थियो ।

यसैगरी प्रतिवादीलाई पक्राउ गरी उपस्थित गराई गराउन जिल्ला प्रहरी कार्यालय, सर्लाहीले पनि २०७६–१०–२४ पत्राचार गरेकामा खोजतलासका क्रममा बुधबार मात्रै झण्डै ४ वर्षपछि पक्राउ गर्न सकिएको सीआईबीको भनाइ छ ।

बम्जनको खोजतलास गर्ने क्रममा मंगलबार साँझ करिव ७ : १५ बजे पक्राउ गर्न घरमा प्रवेश गर्दा उनी झ्यालबाट भाग्ने प्रयास गरेका थिए । भाग्ने क्रममा ब्यूरोको टोलीले उनलाई पक्राउ गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

  • २५ पुष २०८०, बुधबार १५:१२ प्रकाशित