सूर्य दर्शन सहकारी ठगी प्रकरण

महेन्द्र भोटे र भविश्वर आर्याल पुर्पक्षका लागि थुनामा

केन्द्रभाग मिडिया

 

पोखरा ।

सूर्य दर्शन सहकारी ठगी प्रकरणमा पूर्व सञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र भविश्वर अर्याल कास्की जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा गएका छन् । पक्राउ पुर्जी जारी भएलगत्तै फरार रहेका मध्ये पछिल्लो समय आफै अदालतमा उपस्थित भएका उनीहरुसहित पुर्पक्षका लागि थुनामा पुग्नेको संख्या ४ पुगेको छ ।

प्रहरीले पक्राउ पुर्जी जारी गरेको भोलिपल्टै २५ भदौमा पक्राउ परेका उक्त सहकारीका कोषाध्यक्ष कुमार रम्तेल पुर्पक्षका लागि थुनामै छन् । गत शुक्रबार काठमाडौंबाट पक्राउ परेको सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामीलाई पनि सोमबार अदालतले पुर्पक्षका लागि थुनामा पठाएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीले पूर्वअध्यक्ष जीबी राई, भूपेन्द्र राई, वर्तमान अध्यक्ष थानबहादुर बुढा र पूर्वसञ्चालक समिति सदस्य शिवबहादुर गुरुङविरुद्ध इन्टरपोलको ‘डिफ्युजन नोटिस’ जारी गर्न गत ६ पुसमा पत्राचार गरेको थियो । डिफ्युजन नोटिस जारी गर्न सिफारिस मध्य शिवबहादुर गुरुङ आफै अदालत उपस्थित भएका हुन् भने बाँकी तीन जनासहित अझै १५ जना फरार रहेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवण कुमार विकले जानकारी दिए ।

महेन्द्र र अर्याललाई मंगलबार बयान गराइएकामा बुधबार थुनछेक बहसपछि न्यायाधीश वसन्तजंग थापाको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । पक्राउ पुर्जी जारी भएलगत्तै फरार महेन्द्र र भविश्वर मंगलबार आफै अदालतमा उपस्थित भएका थिए ।

थुनामा गएका दर्लामी रामेछापको लिखु तामाकोशी गाउँपालिकाको प्रवक्ता समेत रहेका र वडा नम्बर ७ मा माओवादीबाट निर्वाचित अध्यक्ष समेत रहेको खुलेको छ ।

महेन्द्र एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालका उपमहासचिव हुन् भने गत स्थानीय तहको निर्वाचनमा मादी गाउँपालिका अध्यक्षमा पराजित भएका थिए ।

जिल्ला अदातलमा दर्ता भएको सहकारी ठगी मुद्दामा १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो रकम जाहेरीवालालाई दिलाउन माग गरिएको छ । सहकारी ऐन, २०७४ को दफा १२२ बमोजिम सहकारी ठगी मुद्दामा १९ जनालाई प्रतिवादी बनाइएको छ ।

  • १८ पुष २०८०, बुधबार २१:२१ प्रकाशित