बेनी-जोमसोम-कोरला सडकमा थप ६ पक्की पुल निर्माण

केन्द्रभाग मिडिया

म्याग्दी ।

गण्डकी प्रदेश अन्तर्गत राष्ट्रिय गौरवको उत्तर-दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडकअन्तर्गत थप ६ पुल निर्माण भएका छन् ।

म्याग्दीको रघुगङ्गा गाउँपालिकामा एक, मुस्ताङको थासाङ गाउँपालिकामा एक र लोमान्थाङ गाउँपालिकामा चार मोटरेबल पुल सञ्चालनमा आएको बेनी-जोमसोम-कोरला सडक आयोजनाले जनाएको छ ।

आयोजनाका इन्जिनियर विष्णु चापागाईँले निर्माणको अन्तिम चरणमा रहेका ती पुल सवारीसाधन आवतजावतका लागि प्रयोग हुन थालेका जानकारी दिए ।

‘पन्चानब्बे प्रतिशतभन्दा बढी भौतिक प्रगति भएका पुल अन्तिम चरणमा छन्’, उनले भने, ‘पहुँचमार्ग र संरचना बनिसकेकाले सवारीसाधनले आवतजावतमा प्रयोग गरेका हुन् ।’

बेनी-जोमसोम-कोरला आयोजनाले पाँच पुल निर्माणका लागि विभिन्न निर्माण कम्पनीसँग ३१ करोड ६२ लाखमा ठेक्का सम्झौता भएको थियो ।

रघुगङ्गा -१ बेगखोलामा ७० मिटर लामो ‘डबल स्पाम’ भएको मोटरेबल पुल बनाउन सडक विभागको पुल महाशाखाले बिओकेआईरहिमालयन जेभीसँग भ्याटसहित आठ करोड ३० लाख ६८ लाख चार सय ७३ मा ठेक्का सम्झौता गरेको थियो ।

थासाङ गाउँपालिकाको छाक्ताङखोलामा डबल स्पाम भएको ८० मिटर लामो पुल निर्माण गर्न कालिका-गजुरमुखी जेभीले रु सात करोड ४२ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

लोमान्थाङको लोमान्थाङ, किम्लिङ, नाम्डोक र भर्मा खोलाको पुल निर्माणका लागि मुक्तिनाथ-अमित जेभीले विसं २०७६ असार ३१ गते ठेक्का सम्झौता गरेको थियो ।

  • ११ पुष २०८०, बुधबार १३:११ प्रकाशित