पूर्ण स्मृति सम्मान तथा पुरस्कार नन्दराज, सागर र विकासलाई

केन्द्रभाग मिडिया

दुलेगौंडा ।

तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित शुक्लागण्डकी एफ.एम. ९७.६ मेगाहर्जका तत्कालिन अध्यक्ष पूर्ण कुमार श्रेष्ठको स्मृतिमा स्थापित पूर्ण स्मृति शुक्लागण्डकी एफ.एम. सम्मान तथा पुरस्कार–२०८० प्रदान गरिएको छ । सोमवार शुनपा–२, गाछेपानीमा आयोजित कार्यक्रममा प्रदेश सभा सदस्य श्यामराजा महत, रेडियोका अध्यक्ष ऋषेश्वर भुवाई ‘ऋतु’, वडा नंं ६ र १० का अध्यक्षहरु बुद्धि बहादुर थापा, राजेन्द्र भट्टराई क्षेत्री, स्वर्गिय पूर्ण श्रेष्ठकी धर्मपत्नी सुकु श्रेष्ठले उनीहरुलाई नगद, सम्मानपत्र र दोसल्लाले सम्मान गरेका हुन् ।

रेडियोको आठौं वार्षिक साधारणसभाको अवसर समेत पारि गरिएको कार्यक्रममा समाजसेवातर्फ नन्दराज थापा, साहित्यतर्फ सागर उदास र पत्रकारितातर्फ पत्रकार विकास खनाल सम्मानित भएका हुन् । पत्रकारिता र साहित्यतर्फ पुरस्कारको राशी नगद १०÷१० हजार, प्रमाण पत्र र पूर्ण स्मृति सामाजिक सेवा पुरस्कार तथा सम्मानतर्फ नगद ५ हजार र प्रमाणपत्र रहेको छ । तनहुँ जिल्ला भित्र क्रियाशिल रहेका मध्य खोज पत्रकारिता क्षेत्रमा लागेका व्यक्ति, तनहुँ जिल्लामा साहित्यिक क्षेत्रमा सक्रिय रहेका व्यक्ति र शुक्लागण्डकी नगर क्षेत्रमा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिबाट छनौट गरिएको हो ।

समाजसेवातर्फ छनौट भएका ६६ वर्षिय थापा यस क्षेत्रका विभिन्न सामाजिक संघसंस्थामा क्रियाशिल रहि नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । झण्डै ४ दशक शिक्षण पेशामा आवद्ध उनी निवृत्तपछि सामाजिक क्षेत्रमा क्रियाशिल छन् । ग्रामिण होमस्टेको प्रवद्धनमा लागेका उनी हाल शुक्लागण्डकी–२ दगाम बस्दै आएका छन् । यसैगरी साहित्यतर्फ सम्मानित भएका उदास वि.स. २०४५ सालदेखि कलम चलाउन थालेका हुन् । उनको शब्दको पहिलो गीत २०५१ सालमा रेडियो नेपालमा रेकर्ड भएको थियो । विभिन्न गिती पुस्तक, आधुनिक गीत रेकर्ड भएका छन् । ५३ वर्षिय उदास वर्मामा जन्मिएका हुन् । हाल व्यास–२ दमौलीमा बस्दै आएका उदास गण्डकी बाङ्मय प्रतिष्ठानका निवर्तमान अध्यक्ष हुन् ।

यस्तै पत्रकार खनाल दमौलीमा रहेर पत्रकारितामा क्रियाशिल छन् । म्गाग्दे–१ को गुणादीमा जन्मिएका खनाल हाल हाल व्यास–२ मा रहेर पत्रकारिता गर्दै आएका छन् । वि.स.२०५७ सालबाट लेख रचना प्रकाशन गर्दैै २०६७ सालमा मादी सेती प्रवाह दैनिकबाट पत्रकारिता शुरु गरेका खनाल हाल प्राइम टाइम टेलिभिजन, सेती मादी दैनिक र बीएनबी मिरर डटकममा आवद्ध छन् । खनाल अघिल्लो कार्यकालमा म्याग्दे गाउँपालिकाको प्रेस सल्लाहकार थिए ।

सो अवसरमा बोल्दै प्रदेश सभा सदस्य महतले रेडियोले स्थापना गरेको सम्मानले अन्य व्यक्तिहरुलाई समाजप्रति थप उत्तरदायि बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । सम्मान ग्रहणपछि समाजसेवी नन्दराज थापा, साहित्यकार सागर उदास र पत्रकार विकास खनालले सम्मानले आफूहरुलाई थप जिम्मेवार बनाएको बताएका थिए । रेडियोका अध्यक्ष भुवाईको अध्यक्षतामा भएको कार्यक्रममा छनौट समितिका संयोजक नारायण श्रेष्ठले पत्रकार खनाल, छनौट समिति सदस्य आनन्दसुन्दर श्रेष्ठले साहित्यकार उदास र रेडियोका पूर्व सदस्य सुजित हिराचनले समाजसेवी थापाको जिवनी र परिचय प्रकाश पारेका थिए ।

स्व. श्रेष्ठ सञ्चार व्यवसायसँगै, समाजसेवा र साहित्य क्षेत्रमा समेत सक्रिय रहेकाले ३ विधा छनौट गरिएको हो । रेडियोका पूर्व अध्यक्ष नारायण कुमार श्रेष्ठको संयोजकत्वमा बसेको बैठकले पुरस्कृत व्यक्ति छनौट गरेको हो । छनौट समिति सदस्यहरुमा आनन्द सुन्दर श्रेष्ठ, ठान प्रकाश न्यौपाने, शिव गर्तौला रहेका थिए । पूर्ण स्मृति शुक्लागण्डकी एफ.एम. सम्मान तथा पुरस्कार–२०७९ बाट पत्रकारितातर्फ विश्वबन्धु भण्डारी, साहित्यतर्फ शेषमणि आचार्य र समाजसेवातर्फ भक्तबहादुर रिमाल सम्मानित भएका थिए । रेडियोका शेयरधनी सदस्य, शुभेच्छुकबाट स्वतस्फूर्त र केहि रकम उहाँको परिवारबाट जम्मा गरि ३ लाख रुपैयाको अक्षयकोष स्थापना गरिएको हो । सोहि रकमको ब्याजबाट प्राप्त आम्दानीले प्रत्येक वर्ष ३ विधामा क्रियाशिल व्यक्तिहरुलाई पुरस्कार प्रदान गरिने रेडियोले जनाएको छ । रेडियोको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका पूर्णको २०७८ जेठ १२ गते हृदयघातका कारण ४८ वर्षको उमेरमा निधन भएको थियो ।

सोहि अवसरमा उत्कृष्ट विज्ञापनदाता डिजी लिंक नेटवर्क प्रालिका अध्यक्ष विपिन वाग्ले, शुक्ला मोटर्स प्रालिका सञ्चालक प्रवास पंगेनी र दुलेगौंडा मेटल उद्योगका सञ्चालक संगम वानीया, उत्कृष्ट कर्मचारीतर्फ रिमा गुरुङ, उत्कृष्ट स्रोता शुनपा–१० खोरादीका टोप विसी सम्मानित भए । वार्षिक साधारणसभामा सचिव शिव पौडेल र कोषाध्यक्ष टिकाराम श्रेष्ठले पेश गरेको सचिव र कोषाध्यक्षको प्रतिवेदन छलफलपछि पारित गरिएको थियो । कार्यक्रममा रेडियोका उपाध्यक्ष सरस्वती सिग्देलले स्वागत र सञ्चालन सचिव पौडेलले गरेका थिए ।

  • १० पुष २०८०, मंगलवार १६:३७ प्रकाशित