सिन्धुलीमा महिलालाई पोलमा बाँधेर बेहोस हुने गरी कुटपिट, श्रीमानसहित ७ जना पक्राउ

केन्द्रभाग मिडिया

सिन्धुली ।

लेनदेनको विषयलाई लिएर कमलामाई नगरपालिका–४, सिन्धुलीमा एक महिलालाई पोलमा बाँधेर निर्घात कुटपिट गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीबाट करिब ३ किलोमिटरको दूरीमा स्थानीय शारदा थापामाथि अमानवीय व्यवहार भएको सूचना पाएपछि आइतबार प्रहरी प्रमुख एसपी राजकुमार सिलवाल नेतृत्वको टोली गाउँमा पुगेको थियो ।

बाँधेर राखेकै अवस्थामा प्रहरीले उद्दार गरेर सेफ होममा राखेको र गाउँबाट उनका श्रीमानसहित ७ जनालाई पक्राउ गरेका सिलवालले बताएका छन् । उद्दार गरेर ल्याउँदा उहाँ बेहोस अवस्थामा रहेको र शरीरमा निलडामहरु रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, उनका श्रीमान् सन्तोष थापाले गाउँका केही व्यक्तिहरुसँग ऋण लिएका थिए । पहिले जग्गाको कारोबार गर्ने उनको पछिल्लो समय कारोबारमा समस्या आएको थियो । त्यहीबेला श्रीमती शारदाले पनि डिभोर्स गर्नलाई अदालतसम्म पुगेकी थिइन् ।

त्यसपछि श्रीमान् सन्तोष समेत भएर गाउँका अन्य व्यक्तिहरुले उनलाई बाँधेर कुटपिट गरेको पाइएको एसपी सिलवालको भनाइ छ । केही दिनअघि पनि शारदाले आफूलाई श्रीमानले अपहरण गरेको भन्दै प्रहरी कहाँ जानकारी गराएकी थिइन् । आफूलाई सिस्नु पानीले हान्ने गरेको समेत उनले प्रहरीलाई बताएकी थिइन् ।

प्रहरीका अनुसार, यो घटनामा पक्राउ परेकामध्ये कोही स्थानीय स्तरमा राजनीतिमा संलग्न व्यक्तिसमेत छन् । यद्यपि, हालसम्म प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेको छैन । थप केही व्यक्ति छानबिनको दायरामा रहेको बताउँदै प्रहरीले उनीहरुको विवरण खुलाएको छैन ।

  • १० पुष २०८०, मंगलवार १४:५४ प्रकाशित