अब नेपाल फर्किंदा अरूको सामान लिएर आए कारबाही

केन्द्रभाग मिडिया

काठमाडौं । अब नेपा फर्किदा अरुको सामान लिएर आए त्रिभुवन विमानस्थल कार्यालयले कारबाही गर्ने भएको छ । श्रम स्वीकृति लिएर विदेशमा काम गरेर नेपाल फर्किनेहरूका लागि मात्र छुट दिएको कानुनी प्रावधान दुरुपयोग गर्ने प्रवृत्ति बढेकाले त्यसलाई निरुत्साहित पार्न कडाइ गर्न लागेको भन्सार विभागले जनाएको छ ।

दसैंमा नेपाल फर्किनेहरूले विमानस्थलमा भेटेका व्यक्तिको आग्रहका आधारमा मोबाइल, ल्यापटप, सुनलगायतका सामग्री सँगै ल्याएको खण्डमा जफत गरिने भएको छ ।

यात्रुहरूले कानुनी व्यवस्थाविपरीत सामान ल्याएमा माल वस्तु जफत गरिने र सोको दोब्बर मूल्यबराबर जरिमाना तथा कैद सजायसमेत हुने जनाएको छ । व्यक्तिगत प्रयोगका सामानबाहेक अन्य व्यक्तिको सामान र कानुनले प्रतिबन्ध गरेका मालसामान ल्याएमा कानुनअनुसार कारबाही गर्ने चेतावनी त्रिभुवन विमानस्थल भन्सार कार्यालयले गरेको हो ।

भन्सार विभागले कानुनले छुट दिएका व्यक्तिगत प्रयोगका सामानबाहेक अन्य व्यक्तिको सामान र नेपालको कानुनले प्रतिबन्ध गरेका मालसामान नल्याउनु पनि अनुरोध गरेको छ ।

विगतमा विभिन्न मुलुकबाट स्वदेश फर्कंदा विदेशका विमानस्थलमा केही व्यक्ति तथा समूहले विभिन्न प्रलोभन देखाई विभिन्न मालसामान नेपालको विमानस्थलसम्म पु¥याइदिनु र विमानस्थलमा आफ्नो मान्छेले लिन आउने भनेर दिएर पठाउने गर्दै आएका थिए ।

विमानस्थलस्थित भन्सार कार्यालयका अनुसार साउदी अरब, युनाइटेड अरब इमिरेट्स, कतार, हङकङ, थाइलैन्ड तथा मलेसियाका अन्तर्राष्ट्रिय विमानस्थल तथा आसपासबाट केही अपरिचित व्यक्तिले मेरो घरको सामान हो, मेरो आफन्त त्रिभुवन विमानस्थलमा लिन आउँछन् र लगेबापत केही पैसा दिन्छु भनेर प्रलोभनमा पारी ल्यापटप, मोबाइल, सुन, घडी आदि पठाउने गरेका छन् ।

  • १८ आश्विन २०८०, बिहीबार ०९:३८ प्रकाशित