काठमाडौं ।
किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ आजदेखि निःशुल्क लगाइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले काठमाडौंको थापाथलीस्थित प्रसूति अस्पतालबाट खोप अभियानको उदघाटन गर्नेछन् ।
एचपीभी खोप हालका लागि १४ वर्ष पूरा भएका र १५ वर्ष नकटेका किशोरीलाई मात्रै दिइँदैछ । खोप लगाउनका लागि आफ्नो उमेर खुल्ने परिचय पत्र अनिवार्य गरिएको छ । यो खोपको दुई मात्रा लगाउनुपर्ने हुन्छ ।
स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखा प्रमुख डा। विवेकलाल कर्णका अनुसार कोशी अस्पताल, नारायणी अस्पताल, परोपकार तथा स्त्रीरोग अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल, कर्णाली प्रदेश अस्पताल सुर्खेत र डडेलधुरा अस्पतालमा एचपीभी खोप लगाउन सकिन्छ । कोशी र मधेश प्रदेशमा भने नियमित खोप चल्ने भएकाले भदौ २८ र २९ मा सञ्चालन हुनेछ ।
विश्व स्वास्थ्य संगठनले पाठेघर मुखको क्यान्सर विरुद्ध तीन वटा खोपलाई मान्यता दिएको छ, जसमध्ये नेपालमा दिन लागिएको खोप चीनमा बनेको सकुलेन ब्राण्डको हो ।
अहिले चीनबाट खरिद गरेको २० हजार भाइल एचपीभी विरुद्धको खोप हाल टेकुस्थित खोप भण्डारणमा राखिएको छ । सरकारी स्तरबाट पहिलो पटक किशोरीलाई दिन लागिएको एचपीभी विरुद्धको खोप गत असार १९ मा नेपालमा आइपुगेको थियो ।
नेपालले दक्षिण पूर्वी एसियाको रणनीति अनुसार पाठेघरको मुखको क्यान्सरलाई सन् २०३० सम्म जनस्वास्थ्यको समस्याका रूपमा रहन नदिने नीति लिएको छ । र, ९ देखि १४ वर्ष उमेर समूहका बालिकालाई नियमित खोप सञ्चालन गर्ने योजना छ ।
सरकारले अनुदानमा खोप उपलब्ध गराउन दातृ निकाय ग्लोबल भ्याक्सिन एलायन्स ९गाभी० लाई आग्रह गरेको छ । अबको एक वर्षभित्रमा नियमित अनुदानमा गाभी मार्फत एचपीभी विरुद्धको खोप आउने आशा राखिएको छ ।













