न्यायालयलाई दबाबमा राख्नु दुर्भाग्यपूर्णः ज्ञवाली

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेका उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथिको महाभियोग दुषित मनसायका साथ लगाइएको पुष्टि भएको बताएका छन् ।

‘अहिले नेकपा एमालेले व्यक्तिलाई साथ दिएको होइन, विधि र प्रणालीअनुसार अघि बढ्नुपर्छ भनेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेरलाई महाभियोग लगाइँदा दूषित मनासाय राखिएको थियो । नत्र २०७८ फागुनमा महाभियोग दर्ता गरेर भदौसम्म कार्पेटमुनि राखिने थिएन । २५ प्रतिशत सांसदले महाभियोग लगाएर सधैंभरि अल्झाइरहनु गलत नजिर बसेको छ, यसले सबैलाई दुःख दिने निश्चित छ,’ज्ञवालीले भने ।

संसदका महासचिवको निलम्बन फुकुवाको पत्र उचित भएको दाबी पनि उनले गरे । ज्ञवालीले थपे, ‘कतिपय विषय र मुद्दा समयक्रममा असान्दर्भिक र अप्रासंगिक हुन्छन् । पुरानो संसद्का सबै कुरा कायमै रहन्छ भनेर जिद्दी गर्न मिल्दैन । संसदको प्रशासनिक विषयको पत्राचार त संसदकै महासचिवले नै गर्ने हो । त्यो स्वाभाविक हो ।’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चोलेन्द्रशमशेरको सेटिङमा संसदको महासचिवले पत्राचार गरेको कुरा आएको छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा ज्ञवालीले भने, ‘नेकपा एमालेको निर्देशनमा महासचिवले पत्र लेखेको तपाईंले पुष्टि गर्न सक्नुभयो भने मलाई रोजेको सजाय दिन सक्नुहुन्छ । मिडियामा वाहियात कुरा आइरहेको छ । मिडियाले सत्यतथ्य सम्प्रेषण गर्नुपर्छ । न्यायालयको बेथिति र अराजकताबारे बोल्ने हिम्मत गर्नुपर्छ ।’

पाखुरा सुर्केको भरमा न्यायालयलाई दबाब र प्रभावमा राख्नु दुर्भाग्यपूर्ण हुने पनि उनले औंल्याए । ज्ञवालीले भने, ‘सर्वोच्च अदालतमा तीन हजार मुद्दा वर्षौंदेखि थन्किएका छन्, तर चोलेन्द्रशमशेरको मुद्दा कति चाँडै फैसला भएको ? प्रायोजित मुद्दा प्रायोजित इजलासमा फैसला गर्नु दुर्भाग्य हो । तर्कमा गर्नुपर्ने वकिल नै सडकमा ढुंगामुढामा उत्रिएका छन् । पाखुरा सुर्केको भरमा न्यायालय चलाउन मिल्दैन ।’

गठबन्धनले सरकार निर्माण नसके एमाले स्वतः अगाडि आउने पनि ज्ञवालीले बताए । उनले भने, ‘एउटा दललाई घेराउ गरी ६ दलका १५३ जना सांसद गठबन्धन गरेर जाँदा पनि सामान्य बहुमत समेत ल्याउन सकेनन् । एमालेले पनि सोचेजस्तो सिट ल्याउन सकेन । यो खण्डित खालको जनादेश हो । देश डरलाग्दो अस्थिरताको चक्रव्यूहमा जाने भो । धमिलो पानीमा माछा मार्ने खेल हुने भए । यसले जनतामा झन् ठूलो निराशा छाउने भो । तर उहाँहरुले निकास दिनुभएन भने हामी वैकल्पिक सरकार दिन तयार छौं । तर जस्तोसुकै शक्तिलाई काँधमा बोकेर एमाले सरकारमा जाँदैन । हामी त्यो दौडमा छैनौं ।’

  • २४ मंसिर २०७९, शनिबार १६:०१ प्रकाशित