टनेलमा फसेका नागरिकको शीघ्र उद्धार गर्न एमाले प्रमुख सचेतक महरको आग्रह

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कम्युनिस्ट पार्टी (एमाले) का प्रमुख सचेतक ऐन महरले निर्माणाधीन जलविद्युत् आयोजनाका टनेलमा फसेका नागरिकको शीघ्र उद्धार गर्न सरकारसँग आग्रह गरेका छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन्।

विपद्को यस शोकलाई शक्तिमा बदल्न सरकारलाई निःसर्त साथ दिन आफूहरू तयार रहेको उनले बताए। जलविद्युत् आयोजनाका टनेलमा फसेका नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राख्न उनले सरकारको ध्यान खिचेका छन्। प्रमुख सचेतक महरले आफ्नै गृह जिल्ला बझाङका दुई जना इन्जिनियरसमेत जलविद्युत् आयोजनाको टनेलमा फसेको र उनीहरूको अवस्था अझै अज्ञात रहेको जानकारी दिए।

संसद्मा बोल्दै महरले भने, ‘हामी सबै सरकारको साथमा छौँ। हामी निःसर्त सरकारलाई साथ दिन चाहन्छौँ र यो संकटको सामना गर्न चाहन्छौँ। यो शोकलाई हामी शक्तिमा बदल्न चाहन्छौँ।’

उद्धारको याचना गरिरहेका नागरिकहरूबारे बोल्दै उनले थपे, ‘अहिले पनि धेरै नागरिक उद्धारका लागि गुहार गरिरहनुभएको छ। निर्माणाधीन जलविद्युत् आयोजनाका टनेलहरूमा फसिरहनुभएको अवस्था छ। उहाँहरूको छिटोभन्दा छिटो उद्धार गरियोस्। मेरो गृह जिल्ला बझाङका दुई जना इन्जिनियरहरूसमेत यो आयोजनामा फस्नुभएको छ। उहाँहरूको खोजीमा समेत सरकारले ध्यान देओस्।’

सम्बोधनका क्रममा प्रमुख सचेतक महरले बाढी प्रभावित क्षेत्रका नागरिकको स्वास्थ्यप्रति समेत सरकार गम्भीर हुनुपर्नेमा जोड दिए।

यसैगरी, नेपाली कम्युनिस्ट पार्टी ९एमाले० की सांसद यशोदाकुमारी बरालले रसुवा बाढी प्रभावित क्षेत्रमा राहत वितरणका लागि सरकारले अपनाएको एकद्वार प्रणालीका कारण जनता भोकै बस्नुपरेको बताएकी छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्।

बाढीमा परी सम्पर्कविहीन भएका आफन्तको खोजीमा प्रभावित क्षेत्रमा पुगेका नागरिकले समेत उचित राहत पाउन नसकेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराइन्। नागरिकभन्दा ठुलो कुनै सरकार र व्यक्ति हुन नसक्ने उल्लेख गर्दै उनले जनताको जीवनरक्षालाई पहिलो प्राथमिकता दिन आग्रह गरिन्।

प्रविधिको अभाव देखाएर सरकार आफ्नो जिम्मेवारीबाट पन्छिन नहुने सांसद बरालको भनाइ छ। सुरुङभित्र फसेका नागरिक अझै पनि जीवितै रहेको आशा व्यक्त गर्दै उनले खोज तथा उद्धार कार्यलाई तीव्रता दिन आग्रह गरिन्।

संसद्मा बोल्दै सांसद बरालले भनिन्, ‘सरकारले बाढी प्रभावित क्षेत्रमा राहत वितरणका लागि अपनाएको एकद्वार प्रणालीका कारण जनता भोकै छन्। यस विषयमा सरकारले ध्यान दिनुपर्छ। नागरिकभन्दा ठुलो कुनै सरकार र व्यक्ति हुन सक्दैन।’

सुरुङभित्रका मानिस र प्रभावितको अवस्थाबारे बोल्दै उनले थपिन्, ‘प्रविधि छैन भनेर सरकारले हात उठाउन पाउँदैन। सुरुङभित्र रहेका नागरिक अहिले पनि जीवितै हुनुहुन्छ भन्ने आशा छ। कर्णालीका केही नागरिकले भागेर ज्यान जोगाउनुभएको छ, उहाँहरूसँग मेरो भेट पनि भएको थियो। तर सम्पर्कविहीन आफन्तको खोजीमा प्रभावित क्षेत्रमा पुगेका नागरिकले खान पाएका छैनन्, यसमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’

सम्बोधनका क्रममा सांसद बरालले बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिन्। साथै, उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिन्।

  • १८ भाद्र २०८३, बिहीबार १६:३४ प्रकाशित