केटी साथीले चिनजान गराएकी थिइन सन्दीपलाई उजुरी दिने किशोरीसँग

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जाहेरी दिने किशोरी सन्दीपकै साथीको साथी रहेको खुलेको छ । मंगलबार (हिजो) साँझ प्रहरी वृत्त गौशालामा आफूमाथि बलात्कार भएको भन्दै एक १७ वर्षीया किशोरीले सन्दीपविरुद्ध जाहेरी दिएकी हुन् ।

सन्दीपविरुद्ध परेको जाहेरीबारे अनुसन्धान भइरहेको र सम्भवतः आजै पक्राउ पुर्जी जारी हुने उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी रवीन्द्र धानुकले बताए ।

उनले भने, “अहिले अरू कुरा भन्न मिल्दैन । अनुसन्धानबाट थप कुरा आउला ।”

सन्दीप यति बेला क्यारेबियन प्रिमियर लिग खेल्न वेष्ट इन्डिजमा छन् ।

बाह्रखरीलाई प्राप्त जानकारीअनुसार सन्दीपविरुद्ध जाहेरी दिने किशोरीको घर नुवाकोट हुन् । उनी काठमाडौंको बागबजारको एक कलेजमा अध्ययनरत् छिन् ।

सन्दीप र ती किशोरीबीच एक महिनाअघि मात्र चिनजान भएको थियो । नेपाल प्रहरीका एक उच्च अधिकारीका अनुसार सन्दीपकै केटी साथीले ती किशोरी र सन्दीपको चिनजान गराइदिएकी थिइन् ।

ती प्रहरी अधिकारीले भने, “जाहेरी दिने किशोरीसँग सन्दीपकी केटी साथीको चिनजान रहेछ । उनै केटी साथीले सन्दीपसँग सामाजिक सञ्जालमा जोडिदिएकी रहिछिन् । पछि उनीहरू निरन्तर सामाजिक सञ्जालमा कुराकानी गर्न थाले । भेटघाट भने पहिलोपटक मात्रै भएको देखिन्छ । थप अनुसन्धान जारी छ ।”

कुराकानीका क्रममा सुरुमा दुवैजनाले एकार्कालाई आफ्नो फोटो पठाएका थिए । एक महिनाको कुराकानीपछि सन्दीपले ती किशोरीलाई यही भदौ ५ गते भेट्न बोलाएका थिए ।

भदौ ५ गते दिनभर सन्दीपले आफ्नै गाडीमा ती किशोरीलाई नगरकोट र भक्तपुरका विभिन्न स्थानमा घुमाएको जाहेरीमा उल्लेख छ ।

उच्च प्रहरी अधिकारीका अनुसार किशोरी होस्टेलमा बस्दै आएकी छन् । दिनभर घुमेपछि सन्दीपले भदौ ५ गते राति पिंगलास्थानको होटेल काठमाडौं इनमा राखेर बलात्कार गरेको उजुरीमा उल्लेख छ । सोही राति आफूमाथि दुईपटक बलात्कार भएको किशोरीले उजुरीमा उल्लेख गरेकी छन् ।

भदौ ६ गते सन्दीपसहितको टोली क्रिकेट शृंखलाका लागि केन्या प्रस्थान गरेको थियो । त्यहाँ नेपालले पाँच खेलको ट्वान्टी–२०० शृंखला खेलेको थियो । जसको नेतृत्व सन्दीपले गरेका थिए । केन्याबाटै सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज गएका हुन् ।

प्रहरीले जाहेरी दिने किशोरीको एकद्वार संकट व्यवस्थापन केन्द्रमा विस्तृत स्वास्थ्य परीक्षण गराइएको छ ।

प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । सन्दीप विश्व क्रिकेटका उदयमान ‘लेग स्पीनर’ हुन् । २२ वर्षीय सन्दीपले हालसम्म नेपालका लागि ३० अन्तर्राष्ट्रिय एकदिवसीय र ४४ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । यी दुवै फर्म्याटमा उनी नेपालका लागि सर्वाधिक विकेट लिने खेलाडी हुन् ।

  • २२ भाद्र २०७९, बुधबार ११:३८ प्रकाशित