तलब कटौती र अनुचित निष्कासन विरुद्ध पत्रकार महासंघले धर्ना दिँदै

केन्द्रभाग मिडिया

काठमाडौं ।

विभिन्न सञ्चार प्रतिष्ठानहरुले श्रमजीवी पत्रकारहरुलाई निषकासने गर्ने, दबाबपूर्ण विदामा राख्ने, तलब कटौती गर्ने, अनुचित सरुवा गर्ने र नियमित पारिश्रमिक नदिने क्रम बढेसंगै श्रमजीवी पत्रकारहरुको छाता संस्था नेपाल  पत्रकार महासंघ आन्दोलित बनेको छ । महासंघले विरोधका कार्यक्रम घोषणा गरेरै महासंघ अगाडि बढको हो ।

यस्ता कार्यविरूद्ध सम्बन्धित सञ्चार गृहसँग पटकपटक पत्राचार, संवाद तथा दबाबका विभिन्न कार्य अघि बढाउँदासमेत बेवास्ता गरिँदै आएकोले अब आन्दोलनमा उत्रनुपर्ने बाध्यता आएको महासंघले जनाएको छ ।

महासंघले आइतबार विज्ञप्ति जारी गरेर घोषणा गरेको आन्दोलन कार्यक्रमअनुसार तीनकुनेस्थित कान्तिपुर टेलिभिजनको कार्यालयमा आज र भोली दिउँसो १२ देखि १ बजेसम्म धर्ना दिइनेछ। त्यस्तै, सुन्धारास्थित नागरिक दैनिकको कार्यालयमा वैशाख ७ र ८ गते दिउँसो १२ देखि १ बजेसम्म धर्ना कार्यक्रम छ।

श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, निष्कासित पत्रकारको पुनर्बहाली, पारिश्रमिक र सेवा सुविधाका लागि दबाब, कोभिडका कारण सञ्चार गृहले प्राप्त गरेका सहुलियतपूर्ण ऋणको अनुगमन र पारदर्शिताका लागि दबाब सिर्जना गर्न आन्दोलन कार्यक्रम घोषणा गरेको महासंघले जनाएको छ ।

श्रमजीवी पत्रकारका समस्या थप गम्भीर र जटिल बन्दै गएको तथा पत्रकारका अगाडि आन्दोलन मात्र विकल्प देखिएको अहिलेको अवस्थामा महासंघले केन्द्र, प्रदेश र शाखामार्फत् श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्थाबारे मिडिया अनुगमन कार्यलाई तीव्रता दिँदै जटिल समस्या देखिएका सञ्चार गृहविरूद्ध दबाबमूलक संघर्ष अघि बढाउने निर्णय गरेको विज्ञप्तिमा छ ।

सञ्चार गृहमा नियुक्तिपत्र नदिने, न्यूनतम पारिश्रमिकसमेत नदिने र धेरैजसो सञ्चार गृहले स्ट्रिन्जरका नाममा सञ्चारकर्मीहरूलाई लामो समय काममा लगाउने तर पछि बिनाकारण हटाउने समस्या देखा परेको महासंघले उल्लेख गरेको छ ।

  • ५ बैशाख २०७९, सोमबार ११:०८ प्रकाशित