भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण

केन्द्रभाग मिडिया

दमौली ।

वर्षौँदेखि लालपुर्जाविहीन अवस्थामा रहेका भूमिहीनलाई तनहुँका पालिकाले निस्सा वितरण गर्न थालेका छन् । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा तनहुँका दुई पालिकाले भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण सुरु गरेका हुन् ।

शुक्लागण्डकी नगरपालिका र बन्दीपुर गाउँपालिकाले सबै वडाका भूमिहीनलाई निस्सा वितरण सुरु गरेका छन् । शुक्लागण्डकी नगरपालिकाले राष्ट्रिय भूमि आयोगसँगको सहकार्यमा शुक्लागण्डकी–७ शान्तिनगरबाट निस्सा वितरण सुरुआत गरेको हो ।

शुक्लागण्डकी–७ का ९३० भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीले लालपुर्जा प्राप्त गर्नका लागि निवेदन दिएका थिए । तीमध्ये ८६६ भूमिहीनको विवरण प्रविष्ट गरिएकामा पहिलो चरणमा २४७ लाई निस्सा वितरण सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत लीलाबल्लभ न्यौपानेले जानकारी दिए । निस्सा वितरणसँगै लालपुर्जाको प्रक्रिया सुरु भएको उनले बताए।

नगरपालिकाका १२ वटै वडाबाट चार हजार ४०३ भूमिहीनको निवेदन सङ्कलन भएको छ । त्यहाँका भूमिहीन विगत लामो समयदेखि लालपुर्जा पाउने आशामा बसिरहेका छन् । पटक–पटक बनेको भूमि आयोगले लालपुर्जाका लागि निवेदन संकलन गरे पनि सरकार परिवर्तनसँगै आयोगका पदाधिकारी फेरबदल हुँदा उनीहरुले लालपुर्जा पाउन सकेका छैनन् ।

बन्दीपुरले पनि भूमिही सुकुम्बासीलाई निस्सा वितरण सुरु गरेको छ । वर्षौँदेखि स्थानीयवासीले प्रयोग गरिआएको जग्गाको लालपुर्जा वितरण गर्ने प्रक्रियाअन्तर्गत गाउँपालिकाले निस्सा वितरण सुरु गरेको हो ।

राष्ट्रिय भूमि आयोगसँग भएको सम्झौताबमोजिम भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गाको निस्सा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । उनका अनुसार बन्दीपुर–१ बाट निस्सा वितरण थालिएको छ । उक्त वडाका ७४ जनालाई निस्सा वितरण गरिएको र सबै वडामा निस्सा वितरण गरिने उनले बताए ।

यसैगरी बन्दीपुर–४ र ५ का १३० भूमिहीनलाई निस्सा वितरण गरिएको छ । अध्यक्ष थापाका अनुसार गाउँपालिकाका छवटै वडामा करिब ३२५ भूमिहीनलाई निस्सा वितरण गर्ने भएको छ ।

  • २७ चैत्र २०७८, आईतवार १४:१४ प्रकाशित