कास्कीमा आजबाट टाइफाइड विरुद्धको खोप अभियान

केन्द्रभाग मिडिया

पोखरा ।

कास्कीमा आजबाट टाइफाइडविरुद्धको खोप अभियान सुरु हुदैँछ ।

आज अमरसिंह माविमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अभियानको सुभारम्भ गर्ने कार्यक्रम छ । चैत २४ गते आजबाट अभियानको सुरुवात भए पनि २५ गते(भोलि)बाट खोप लागाउन थालिने भएको छ ।

कास्कीमा १५ महिना देखि १५ वर्ष मुनिका करिब १ लाख ४१ हजार ७ सय ७३ बालबालिकालाई खोप दिने तयारी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

बालरोग विशेषज्ञ डा। रामचन्द्र वास्तोलाले खोप पूर्ण सुरक्षित र प्रभावकारी रहेको बताए । उनले खोपमा अहिलेसम्म मेजर साइड इफेक्ट नदेखिएको र ढुक्क भएर खोप लागाउन आग्रह गरेका छन् ।

कास्कीमा खोपका लागि ५४८ केन्द्र संचालन हुने छन् । कडा ज्वरो आएका र कोभिड–१९ विरुद्धको खोप लागाएको १४ दिन नपुगेकाले यो खोप लगाउन नहुने वास्तोलाले बताए ।

पछिल्लो पाँच वर्षको तथ्यांकअनुसार नेपालमा वर्षेनी औसतमा चार लाख ५० हजार जनाभन्दा बढीमा टाइफाइड संक्रमण हुने अनुमान छ । तीन वर्षको तथ्यांकअनुसार पानी तथा खानाजन्य संक्रामक रोगहरूमध्ये तेस्रो र अस्पताल भर्ना हुने कारणहरूमध्ये यो रोग चौथो कारणमा रहेको छ ।

यो रोगको संक्रमण सबै उमेर समूहमा हुने भए पनि १५ वर्षमुनिका बालबालिकालाई बढी असर गर्ने डा। बास्तोलाले बताए । टाइफाइड खोपबाट संक्रमणमा कमि आउनुको साथै बाल मृत्यु दर न्युन हुने अपेक्षा गरिएको छ । यस पहिले बालिबालिकाले १२ प्रकारका खोप लगाउदै आएकोमा यो १३ औँ खोप हो ।

यो खोप लगाएपछि अन्य खोपहरूमा जस्तै केही सामान्य असर हुनसक्ने भएकाले खोप लगाइसकेपछि बालबालिकालाई आधा घण्टासम्म निगरानीमा राखिने छ । सुई लगाएको ठाउँमा रातो हुने, सुन्निने र दुख्ने, हल्का ज्वरो आउने, टाउको दुख्ने, हात गोडा तथा जोर्नीहरू दुख्ने जस्ता सामान्य लक्षण देखिन सक्ने बताइएको छ ।

चैत्र २५ देखी वैशाख १८ सम्म नेपालमा पहिलो पटक टाइफाइडविरुद्धको खोप दिइन लागिएको छ । देशभरका करिब ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

५ महिनादेखि १५ वर्ष उमेरसमूहका बालबालिकालाई एक मात्रा खोप दिन लागिएको हो । अभियान पछि १५ महिनाका प्रत्येक बालबालिकालाई नियमित खोप कार्यक्रममार्फत टाइफाइडविरुद्धका एक मात्रा खोप दिइने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ ।

अभियानको क्रममा टाइफाइड खोप स्थानीय तहको प्रत्यक विद्यालय र विद्यालय नभएको ठाउँमा वडामा खोप केन्द्रमा संचालन हुने छ ।नेपालमा टाइफाइडको प्रति एक लाखमा १० हजार ९६० संक्रमण दर रहेको छ ।

  • २४ चैत्र २०७८, बिहीबार ०९:२० प्रकाशित