सरकारले पहिलो पटक ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशन गर्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले पहिलो पटक ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशन गर्ने भएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षदेखि आधिकारिक रूपमा ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशनमा ल्याउने भएको हो । समितिले नयाँ वर्ष २०७९ का लागि ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशन गर्न लागेको अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गत रहेको समितिले यसअघि अन्य पञ्चाङ्ग (पात्रो) लाई स्वीकृति दिने काममात्र गर्दै आएको थियो । यही सातासम्म ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशन भइसक्ने समितिले जनाएको छ ।

सरकारले आफैँ पहिलोपटक पात्रो प्रकाशन गर्न लागेको हो । सरकारको आधिकारिक पात्रो प्रकाशनमा आएपछि चाडपर्वलगायत विषयमा हुँदै आएका विवाद अन्त्य हुने विश्वास गरिएको छ ।

समिति गठन आदेश बमोजिम समितिले नौ जनाको सङ्गठन संरचना तयार पारी मन्त्रालयमा पेश गरेको छ । समितिको सङ्गठन संरचना अहिले संस्कृति मन्त्रालयबाट अर्थ मन्त्रालय पुगेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।

स्वीकृतिपछि समितिमा जनशक्ति पनि थपिने छ । थप जनशक्ति पूर्ति भएपछि पात्रो एवं भित्ते पात्रोलाई व्यवस्थापन एवं नियमन गर्न सहज हुने विश्वास गरिएको छ ।

  • २२ चैत्र २०७८, मंगलवार ०९:४६ प्रकाशित