सगरमाथा आरोहण गर्दै गायक राजु र अभिनेत्री दीया : राजुले ६,५०० मिटरको उचाइमा कन्सर्ट गर्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

मङगोलियन हार्टको उपमा पाएका गायक राजु लामा र अभिनेत्री दीया पुन सर्वोच्च शिखर सगरमाथा आरोहणमा जाने भएका छन् ।

आज पर्यटन मन्त्रालयमा आयोजना भएको एक कार्यक्रममा लामा र पुनलाई पर्यटनमन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय झण्डा प्रदान गर्दै आरोहण सफलताको शुभकामना दिए ।

जलवायु परिवर्तनले ल्याएको असरको सन्देश दिन राजु र दीयाले हिमाल आरोहण गर्न लागेको बताएका छन् ।उनी चैत २७ गते सगरमाथातर्फ प्रस्थान गर्नेछन् भने अभिनेत्री पुन चाहिं चैत २३ गते नै त्यसतर्फ लाग्ने कार्यक्रम छ ।

गायक लामाले सगरमाथा आरोहणसहित ६ हजार ५०० मिटर उचाइको क्याम्प दुईमा वैशाख दोस्रो साता सांगीतिक कार्यक्रम समेत गर्ने भएका छन् । विश्वको सबैभन्दा उच्चस्थानमा कन्सर्ट गरेर कीर्तिमान राख्ने लामाको तयारी छ ।

गायक लामाले क्याम्प दुईमा गर्ने कन्सर्टमा आफ्नो ब्याण्ड मंगोलियन हार्टका चर्चित गीत गाउने छन् । उनी तीनजना नेपाली र बाँकी विदेशीसहितको १० सदस्यीय आरोहण दलसँग चुचुरोतर्फ लाग्नेछन् । लामाले कन्सर्टका लागि गितार लिएर हिमाल चढ्ने बताए ।

मन्त्री आलेले दुवै सेलिब्रिटी आरोहीलाई सघाउन सरकार तयार रहेको बताए ।

  • २१ चैत्र २०७८, सोमबार १४:५२ प्रकाशित