आजदेखि यात्रुसहितको रेल सेवा सुरु

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले उद्घाटन गरेसँगै आजदेखि यात्रुसहितको रेल सेवा सुरु भएको छ ।

जयनगर–कुर्था रेल्वे खण्डमा आज बिहान ८ बजेदेखि यात्रुसहितको रेल सेवा सञ्चालनमा आएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।

उनका अनुसार दैनिक दुईपटक जयनगर–कुर्था रेल चल्ने छ । जयनगरबाट छुटेको रेल बिहान १० बजेतिर कुर्था स्टेशन पुगेको छ । जनकपुरधामको कुर्थाबाट पौने ११ बजे जयनगरका लागि चल्ने रेल साढे १२ बजे जयनगर स्टेशनमा पुग्ने समयतालिका निर्धारण गरिएको महाप्रबन्धक झाले जानकारी दिए ।

जयनगर पुगेको रेल पुनः दिउँसो ३ बजे कुर्था फर्केर आउने छ भने बिहान साढे ८ बजे जयनगरबाट गएको रेल बेलुका ५ बजेर १५ मिनेटमा फर्कने गरी रेल्वेको समय निर्धारण गरिएको उनको भनाइ छ ।

जयनगर–कुर्था रेल्वे खण्डमा चल्ने रेलमा चढ्न आउने यात्रुले आफ्नो पहिचान खुल्ने कागजात अनिवार्य बोक्नुपर्ने छ । खुला सिमानाका कारण सुरक्षा चुनौतीलाई दृष्टिगत गरी पहिचान खुल्ने कागजात अनिवार्य गरिएको महाप्रबन्धक झाले बताए ।

सुरक्षा र खुला बोर्डरलाई मध्यनजर गर्दै नेपाली नागरिकले साथमा नागरिकता प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र, मतदाता परिचयपत्र वा अन्य पहिचान खुल्ने कागजात बोक्नु पर्नेछ । यस्तै आकस्मिक प्रवेशका लागि महावाणिज्य दूतावासद्वारा जारी गरिएको फोटोसहितको सिफारिसपत्र वा प्रमाणपत्र चाहिने व्यवस्था गरिएको छ ।

दशदेखि १८ वर्ष उमेरमुनिका बालबालिकाको हकमा स्कुलको फोटोसहितको परिचयपत्र अनिवार्यरूपमा साथमा राख्नुपर्ने कम्पनीले जनाएको छ । त्यस्तै नेपाली रेल चढ्न भारतीय नागरिकले भारत सरकारद्वारा जारी वैद्य राष्ट्रिय पासपोर्ट, भारतीय निर्वाचन आयोगद्वारा जारी पहिचानपत्र लिनुपर्ने जनाइएको छ ।

जयनगरबाट कुर्थासम्म चल्ने रेल सेवाको नयाँ भाडादरसमेत कायम गरिएको छ । जनकपुर–कुर्था–जयनगर सामान्य सिटमा प्रतियात्रु रु ९० र एसी सिटमा ४५० रुपैयाँ भाडा निर्धारण गरिएको छ ।

  • २० चैत्र २०७८, आईतवार १०:०४ प्रकाशित