आजदेखी देशभर पेट्रोलियम पदार्थको ढुवानी बन्द : अभाव हुन सक्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

व्यवसायीले शुक्रबार (आज) देखि सबै प्रकारका पेट्रोलियम पदार्थको ढुवानी बन्द गरेका छन् ।

नेपाल आयल निगमसँग विभिन्न माग राख्दै आन्दोलनमा उत्रेका व्यवसायीले आजदेखी देशभर पेट्रोलियम पदार्थको ढुवानी ठप्प पारेका हुन् । व्यवसायीहरुले सरकारलाई कमिसन बढाउन दबाब दिँदै आजदेखि खाना पकाउने एलपी ग्यास, पेट्रोल र डिजेल उठाउन छाडेका हुन् ।

आयल निगमले इन्धन खरिद गर्ने भारतीय डिपो र नेपालस्थित निगमको डिपोबाट डिलरले खरिद गर्ने सबै प्रकारका पेट्रोलियम पदार्थको ढुवानी रोकिएको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका महासचिव विश्व अर्यालले बताए ।

पेट्रोल र डिजेलको भाउ बढेपछि ढुवानी लागत बढेको भन्दै नेपाल आयल निगमले भाडा नबढाएको उनीहरूको आरोप छ । व्यवसायीले आज देखी पेट्रोलियम पदार्थको आयत र बिक्री बितरण पुर्णरुपमा रोकेका हुन् ।

हाल नेपालमा दैनिक १ लाख सिलिन्डर ग्यास खपत हुँदै आएको छ । यसैगरी दैनिक ६ करोड लिटर डिजेल र पेट्रोल खपत हुँदै आएको छ । व्यवसायीले बिक्री वितरण रोकेसँगै देश भरका पेट्रोलपम्पमा लाइन सुरु भइसकेको छ ।

आन्दोलनका कारण ढुवानीमा संलग्न १४ सय ट्यांकर र करिब १ हजार बुलेटबाट पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्याँसको दैनिक आपुर्ति प्रभावित हुने छ । व्यावसायीको अवरोध कायमै रहे देशभर पेट्रोलियम पदार्थको अभाव हुनसक्नेछ ।

  • १८ चैत्र २०७८, शुक्रबार १०:०४ प्रकाशित