म्यादी प्रहरीका लागि ३ लाखले भरे फाराम

केन्द्रभाग मिडिया

काठमाडौं ।

स्थानीय तह निर्वाचनको लागि म्यादी प्रहरी बन्नका लागि करिब ३ लाख जनाले फाराम भरेका छन् ।

आगामी ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका सरकारले मागेको एक लाख म्यादी प्रहरीका लागि २ लाख ९३ हजार २ सय १६ जनाले आवेदन दिएका हुन् । ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत दर्खास्त मागिएकाभन्दा दोब्बर बढीले आवेदन दिएका हुन् ।

प्रहरी प्रधान कार्यालय, नक्सालले म्यादी प्रहरीका लागि ६ देखि ११ चैतसम्म दर्खास्त दिन आह्वान गरेको थियो । यो अवधिमा झण्डै तीन लाख जनाले आवेदन दिएको प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ ।

सबैभन्दा बढी आवेदन मधेश प्रदेशमा ६८ हजार ६ जनाको आवेदन परेको छ । मधेशपछि लुम्बिनी प्रदेशमा सबैभन्दा बढी ५६ हजार ५६० जनाको आवेदन परेको छ ।

प्रदेश नं.१ मा ५० हजार ९४४, बागमतीमा २७ हजार ८३४, उपत्यकामा १३ हजार ९५०, गण्डकीमा २५ हजार ५०, कर्णालीमा २१ हजार २४५ र सुदूरपश्चिममा २९ हजार ७१४ जनाले म्यादी प्रहरी बन्न आवेदन दिएका छन् ।

मंगलबारदेखि स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा हुने र क्रमशः विभिन्न चरणमा पास हुँदै जाने अन्तरवार्तासम्म पुग्नेछन् र २५ गते अन्तिम नतिजा निकालिनेछ ।

मापदण्डमा उल्लेख भएअनुसार म्यादी प्रहरीले प्रहरी जवानको सरह सुविधा पाउनेछन् । प्रहरी प्रधान कार्यालयका एक अधिकृतका अनुसार ४० दिनमा उनीहरुको तलब ठाउँ अनुसार ३० हजारदेखि ७५ हजार रुपैयाँसम्म हुनसक्छ ।

  • १३ चैत्र २०७८, आईतवार १६:०२ प्रकाशित